काठमाडौं – सरकारले आगामी १ महिनाभित्र ४ लाख नागरिकको कोरोना परीक्षण गर्ने भएको छ ।
कोरोना भाइरस देखिएको धेरै समय भइसक्दा पनि परीक्षण ज्यादै कम भएको भनी चौतर्फी प्रश्न उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाभित्र ४ लाख नागरिकको नमुना संकलन गरी परीक्षण गर्ने लक्ष्य लिएको हो ।
सरकारले हालसम्म आरडीटी र पीसीआर विधिमार्फत १ लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गरिसकेको छ । कूल जनसंख्याको १.७ प्रतिशत परीक्षण तत्काल गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले थप ४ लाख परीक्षण गर्ने तयारी थालेको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ३ लाख आरडीटी र २ लाख पीसीआर परीक्षण गरिने भएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले जतिसक्दो धेरै परीक्षण गर्न आवश्यक भएको बताए । संक्रमितको संख्या समुदायमा ठूलो मात्रामा रहेको हुनसक्ने भन्दै कम परीक्षणले बाहिर नआएको विज्ञहरुको भनाइ छ ।
‘हालसम्म ७४ हजार ६ सय ४९ आरडीटी र ३३ हजार ६ पीसीआर प्रविधिमार्फत कोरोना परीक्षण भएको छ । यो संख्यासहित ५ लाख पुर्याउन लागिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालयले सोमवार नै व्यवस्थापन महाशाखामा आवश्यक किट खरिदका लागि परिपत्र गरेको छ । १ हप्ताभित्र खरिद गरिसक्न मन्त्रालयले निर्देशन दिएको महाशाखा स्रोतको भनाइ छ ।
सरकारले यसअघि ओम्नी समूहसँग ७५ हजार आरडिटी किट र चीनको लेकु मेडिकल प्रालिले उत्पादन गरेको १ लाख आरडिटी किट विधा म्यानेजमेन्ट प्रालिसँग खरिद गरेको थियो । ३ लाख आरडीटी परीक्षण गर्ने लक्ष्य लिएपछि महाशाखाले हालै खरिद गरी ल्याएको विधा म्यानेजमेन्टसँग कोटेसन माग गरेको छ । बुधवारसम्म सम्झौता गरी किट ल्याउने महाशाखाले जनाएको छ । आरडीटी किट १ लाख २५ हजार खरिद गरिने भएको छ ।
पीसीआर परीक्षण २ लाख पुर्याउने लक्ष्य सरकारको छ । हाल ८० हजार पीसीआर किट मौज्दात छ भने १ लाख किट खरिद गर्नुपर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई सूची उपलब्ध गराउन व्यवस्थापन महाशाखाले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट मान्यता नपाएको आरडीटी किट रोकेर पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेमा सरकारले पुनः ठूलो मात्रामा आरडीटी खरिद गर्न लागेको छ ।
अब पैसा तिरेर कोभिड परीक्षण गर्न पाउने
अब पैसा तिरेर आफ्नो इच्छाअनुसार कोरोना जाँच गर्न सकिने भएको छ । सरकारले पीसीआर परीक्षणको दायरा बढाउने क्रममा नीतिगत निर्णय गर्दै आफैं पैसा तिरेर कोरोना जाँच गराउन चाहनेलाई बाटो खोलिदिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट गोपनीयता कायम गर्ने र नियमित रिपोर्टिङ गर्ने शर्तमा सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षणको अनुमति दिएको बताए । लक्षण नभएका व्यक्तिहरूले पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहेमा स्वदेशी तथा विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थामा परीक्षण गराउन पाउनेछन् ।
परीक्षणको शुल्क भने संस्थाले आफ्नो मापदण्डका आधारमा तय गर्नेछन् । पीसीआर परीक्षणको शुल्क कम्तीमा पनि १५ हजार रुपैयाँ लाग्ने विज्ञहरू बताउँछन् । बढी संक्रमण देखिएको प्रदेश २ र प्रदेश ५ मा १०–१० जना चिकित्सक पठाउने मन्त्रालयले निर्णय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेपालमा मंगलवार थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले मंगलवार २७ नयाँ संक्रमित थपिएको बताए । थपिनेहरुमा झापाका ९, काठमाडौं ३, कपिलवस्तु ४, सर्लाही २, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ र नवलपरासीमा १/१ जना छन् । नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । ३७ जना उपचारपछि निको भएका छन् ।
देशभर ७४ हजार ६ सय ४९ आरडीटी परीक्षण हुँदा जम्मा २०५ जनामा आरडीटी पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आरडीटी पोजेटिभ देखिएकामध्ये पीसीआर परीक्षणमार्फत जाँच गर्दा ४ जनामा कोरोना पुष्टि भएको छ । आरडीटीमा पोजेटिभ देखिए त्यसलाई सरकारले कोरोनाको मान्यता दिएको छैन । पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा मात्रै कोभिड संक्रमितको सूचीमा राखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।