काठमाडौं– कोरोना भाइरसका कारण अहिले विश्वका लाखौं मानिसले ज्यान गुमाउनु परिरहेको छ। तर, अब भने यसबाट मानव जातिले राहत पाउने आशा गरिएको छ। अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको छ।
नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन्।
एमआरएनए–१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी दिएको हो।
उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ।
पहिलो चरणमा ८ स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सार्वजनिक गर्दै मोडर्नाले भनेको छ, ‘८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’
मोडर्नाका अनुसार गत मार्चमा परीक्षण सुरु गरिएको यो खोप ती ८ मानिसमा दुईपटक लगाइएको थियो र त्यसले रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको पाइयो। त्यो एन्टिबडी प्रयोगशालामा परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको कम्पनीले जनाएको छ।
मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन्।
तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन्। आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।