काठमाडौं – कोरोना भाइरस संक्रमण विस्तारित हुने संकेत देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि ७६५ वटा स्थानीय तहका ६ हजार ७४३ वडामा क्वारेन्टाइन बनाउने तयारी गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमितको संख्या बढ्न सक्ने तथा विदेशबाट समेत नेपालीलाई ल्याउनका लागि आवश्यक गृहकार्य भइरहेको कारण देखाउँदै त्यसअनुसार सबै वडामा क्वारेन्टाइन निर्माणको तयारी गर्न उच्चस्तरीय समन्वय समिति र सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले त्यसअनुसार तत्काल स्थानीय तहहरूलाई परिपत्र पठाउन समेत निर्देशन गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकले १५ दिन लकडाउन थप्दै २० जेठसम्म विस्तार गरेको छ । गत बैशाख २४ गते जेठ ५ गतेसम्म लकडाउन विस्तार गर्ने निर्णय गरिएको थियो । हालसम्म स्थानीय तहहरूले १० हजारसम्मलाई आइसोलेसनमा राख्न सक्ने गरी क्वारेन्टाइन बनाएका छन् । तर विदेशबाट नेपाली फर्काउन थालिएको अवस्थामा २० गुणासम्म क्षमता विस्तार गर्नुपर्ने सरकारको निष्कर्ष छ ।
मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा समेत क्वारेन्टाइन निर्माणलगायत लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल भएको थियो । ‘लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिमा छलफल भएको छ, त्यसअनुसार धेरै क्वारेन्टाइनमा बस्नेलाई सुरक्षित रूपमा काम गर्न दिने, विदेशबाट आएकालाई सुरक्षित रूपले काममा जोड्न सकिन्छ कि भनेर सोचिरहेका छौं,’ बैठकपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘तर यससम्बन्धी मोडालिटीका सम्बन्धमा अब बस्ने उच्चस्तरीय समितिले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ ।’
छिमेकी मुलुक भारतसहित खाडी क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । यससम्बन्धी आवश्यक थप गृहकार्यका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए । भारतसहित खाडी क्षेत्रबाट ५ लाखभन्दा बढी नेपालीलाई तत्काल फर्काउनुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ ।
मन्त्रिपरिषद् बैठकमा त्यसरी विदेशबाट फर्काउने नेपालीमध्ये बिरामी रहेका, सुत्केरी महिला र घरपरिवार तथा नजिकका आफन्तजन बितेर फर्किन चाहनेलाई पहिलो प्राथमिकतामा राख्ने विषयमा छलफल भएको छ । त्यसपछि क्रमशः भिसाअवधि सकिएर गैरकानुनी रूपमा रहे पनि सम्बन्धित मुलुकबाट आममाफी पाएका र रोजगारी गुमाएकालाई क्रमशः दोस्रो र तेस्रो प्राथमिकतामा राखेर स्वदेश फर्काउने विषयमा पनि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ । प्रधानमन्त्री ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै एम्बुलेन्स र ढुवानीका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिको कडाइका साथ निगरानी गर्दै दोहोरो व्यवस्थित रेकर्ड राख्ने निर्देशन दिएका छन् ।
‘एम्बुलेन्स र ढुवानीको सवारी नम्बर, व्यक्तिहरूको नाम र ठेगाना, काठमाडौंबाट फर्किने मिति र समय व्यवस्थित रूपले रेकर्ड राख्न, आवश्यकताभन्दा बढी व्यक्ति देखिए चेकजाँजबाटै फर्काउन र सवारी फर्किने क्रममा पनि अघिल्लोपटक राखिएको रेकर्ड भिडाएर मात्र नाकाबाट छाड्न प्रधानमन्त्रीज्यूले कडा निर्देशन गर्नुभएको छ,’ ती मन्त्रीले भने ।
सरकारले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै वैकल्पिक उपचार पद्धतिलाई पनि समानान्तर रुपमा अगाडि बढाउने भएको छ । त्यसक्रममा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सूचनामूलक सामग्रीमार्फत जनचेतना अघि बढाउने, आयुर्वेद उपचार पद्धति, जडीबुटी औषधि, व्यायाम, आरोग्य र ध्यानलगायतलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको प्रवक्ता खतिवडाले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
युट्युबर लगायतले विभिन्न नाममा लकडाउनका वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध र दुव्र्यवहार गरेको खण्डमा सरकारले त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री ओलीले त्यसरी बाधा–अवरोध गर्ने जो–कोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको एक मन्त्रीले बताए ।
सरकारले लकडाउनको अवधि २० जेठसम्म थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप गर्दै कृषि, उद्योग, ढुवानी तथा निर्माणसम्बन्धी कामलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।
अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाका अनुसार लकडाउनको मोडालिटी पनि परिवर्तन गर्ने तयारी छ । लकडाउन र आर्थिक जीवनलाई सँगैसँगै लैजानुपर्ने भएकाले मोडालिटी परिवर्तन गरिने उनले बताए । मोडालिटी तयार गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ । सरकारले यसअघि वर्कसप, राजमार्गका केही होटेल, निर्माण सामग्रीका पसल र उद्योगसमेत खोल्न दिने निर्णय गरेको थियो । त्यसबारे भने मन्त्री खतिवडाले आईतबारको पत्रकार सम्मेलनमा केही बताएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।