काठमाडौं–क्यान्सरको उपचारका लागि भारतको नयाँ दिल्ली गएका बाजुराका एक बिरामी अलपत्र परेका छन् । ढाडमा क्यान्सर भएर उपचार गराउन दिल्ली पुगेका बिरामी र उनका बुबालाई बन्दाबन्दीका कारण समस्या परेको हो ।
बाजुराको बडिमालिका नगरपालिका २ का ३६ वर्षीय चक्र केसीको ढाडमा क्यान्सर भएपछि उपचारका लागि गत ८ मंसिरमा भारत गएका थिए । भारतको राजिवगान्धी अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका उनीहरूलाई ११ अप्रिलमा कोरोनाको संक्रमण देखिएको जानकारी गराएको थियो । त्यसपछि अस्पतालले उनको क्यान्सरको उपचार रोकेर कोरोना विशेष अस्पताल रिफर गरेको थियो ।
बिरामीका बाबु छोरालाई नै कोरोनाभाइरसको संक्रमण देखिएको भन्दै दिल्लीकै कोरोना विशेष अस्पतालमा रिफर गरेपछि उनीहरूले क्यान्सरको उपचारलाई रोकेर कोरोनाको उपचार गराएका थिए ।
कोरोना विशेष अस्पतालमा २२ दिनको उपचार सकाएर डिस्चार्ज भएका उनीहरू बन्दाबन्दीका कारण क्यान्सर अस्पतालसम्म पुग्न सकेका छैनन् ।
बिरामीका बुबा धनबहादुर केसीले आफू अहिले कोरोना विशेष अस्पताल बाहिरको सिमेन्टीको भुंइमा नै सुतिरहेको जानकारी गराए । धनबहादुर खत्री ले छोरालाई २२ दिनदेखि औषधि खान नपाएर र चिसोका कारण समस्या झननाजुक बन्दै गइरहेको बताए।
‘यो अस्पतालमा धेरै बस्न मिल्दैन भनेर डिस्चार्ज गरिदियो, बाहिर गाडी चलेका छैनन्। छोरो चिसोले सुन्निएको छ । क्यान्सरको औषधि नखाएको एक महिना हुन लागि सक्यो,’ बिरामीका बुबा धनबहादुरले भने ।
कोरोना अस्पतालमा नै राखिदेउ भन्दा पनि महामारीको वेलामा नमिलेको र आफू अर्को अस्पताल जाने विकल्प नहुँदा उपचार गर्न ल्याएको छोरो बाँच्दैन कि भन्ने चिन्ता धनबहादुरलाई लागेको छ ।
‘उपचार गर्न भनेर आएको, झन ठूलो समस्यामा परे । परदेशको ठाउँमा के गर्ने हो, केही भेउ पाउन सकिन,’ धनबहादुरले गुनासो गरे।
यस विषयमा दिल्लीमा रहेको भारतका लागि नेपाली दूतावासले कोरोनाका कारण भारतमा रहेका र समस्यामा परेका नेपालीले आपत परेको खण्डमा फोन गर्नु भनेर सार्वजनिक गरेको तीनवटा मध्ये एउटा नम्बर निरन्तर ब्यस्त मात्रै देखाउँछ भने बाँकी दुईवटा एउटामा सम्पर्क नै नहुने र अर्को नउठ्ने गुनासो धनबहादुरको छ ।
धनबहादुरले कोरोना विशेष अस्पतालबाट क्यान्सर अस्पतालसम्म पुग्ने र त्यहाँ पुनः भर्ना हुने व्यवस्था मात्रै गरिदिए पनि आफूलाई धेरै राहत हुने बताएका छन् ।
दूतावासमा केही गरि सम्पर्क नभएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत निलाम्बर आचार्यलाई जानकारी गराइएको थियो । बिरामीका आफन्त टंक जोशीले काठमाडौंबाट ट्विटरमा बिरामीको तस्वीर र सम्पर्क नम्बर राखेर सहयोग मागेका थिए ।
ट्विटरमा उनलाई मेन्सन गरेर सहयोग मागेको तीन दिनपछि राजदूत आचार्यले ‘दूतावासको सम्पर्क भइसकेको’ भनेर प्रतिक्रिया जनाएका थिए । तर शुक्रवार मध्ये रातीसम्म पनि बिरामीलाई कसैले सम्पर्क गरेको छैन ।
महामारीको संकटको वेलामा शुक्रबार मध्ये राती धनबहादुर सोध्दै थिए, ‘छोरो बाच्दैन जस्तो भइसक्यो, कहाँ के गरुं?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।