काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। मतगणनालाई छरितो र व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन समितिले औसतमा २५ वटा समूह बनाएर विभिन्न पद तथा समावेशी कोटाको गणना एकैसाथ अघि बढाएको छ।
नेपाली कांग्रेस मिडिया सेन्टरका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुलासहित सात केन्द्रीय सदस्य तथा पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भइसकेको छ।
हाल सानेपामा खुला तथा महिला सहमहामन्त्री, आदिवासी जनजातितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य तथा अन्य समावेशी समूहका विभिन्न पदको मतगणना भइरहेको छ।
यसैगरी भूगोलअन्तर्गत सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा खुलातर्फका ३५ वर्षमुनिका केन्द्रीय सदस्य पदको मतगणना पनि जारी रहेको छ।
निर्वाचन समितिका अनुसार केहीबेरमै खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ। साथै दलित, मधेसी, खस आर्य, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्ति र पेशागत क्षेत्रका विभिन्न समावेशी कोटाअन्तर्गत सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना पनि सुरु गरिनेछ।
विभिन्न पद र समूहको मतगणना एकैसाथ अघि बढाइएकाले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि परिणाम क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।