काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका आरोपलाई गम्भीरतापूर्वक लिइएको उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ। अनुसन्धान प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न छानबिन पूरा नहुँदासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ।
पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति अपनाएको पनि स्पष्ट पारेको छ।
त्यस्तै, राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आन्तरिक तथा सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको जनाउँदै रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।