काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गर्ने भएको छ।
नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला देउवा पक्षले पनि छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै वडा अधिवेशन गर्न लागेको हो।
देउवा पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। सोहीअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ।
देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकिएको छ। यस्तै, आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत पठाइएको छ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने अडान राख्दै आएको देउवा पक्षले संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि समानान्तर रूपमा आफ्नै प्रक्रिया सुरु गरेको हो।
देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्। उनले कांग्रेसका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल र उत्साहका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै नेपाली कांग्रेसको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ। यही कारण संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा आफूहरू सहभागी नभएको उसको भनाइ छ।
यससँगै नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षबीचको विवाद थप औपचारिक रूपमा समानान्तर अधिवेशन प्रक्रियामा प्रवेश गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।