काठमाडौं - रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले नेपाल–चीन सीमापार व्यापारको ढुवानी संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीमा चार सयभन्दा बढी ट्रक तथा कन्टेनर बगेर बेपत्ता भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले जनाएको छ।
बाढीमा परेका धेरै चालक तथा सहचालक अझै सम्पर्कविहीन छन्। केही चालक भने ज्यान जोगाएर सम्पर्कमा आएका छन्। बेपत्ताको खोजी तथा उद्धार प्रभावकारी बनाउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।
व्यवसायीका अनुसार स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रमा पार्किङ गरिएका तथा भन्सार प्रक्रिया पूरा गरी फर्किन लागेका गरी एक सयभन्दा बढी गाडी समेत बाढीको चपेटामा परेका छन्।
चीनबाट दसैँ–तिहारका लागि करोडौँ रुपैयाँका लत्ताकपडा तथा अन्य उपभोग्य सामग्री बोकेर आएका कन्टेनरसमेत बाढीमा परेकाले आर्थिक क्षति अर्बौँ रुपैयाँ पुग्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, चीनको केरुङतर्फ करिब १५५ वटा नेपाली गाडी रोकिएका छन्। सीमापारि रहेका गाडी तथा सामानको सुरक्षा र सहज फिर्तीका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ।
व्यवसायीहरूले बेपत्ताको खोजी, क्षतिको यकिन विवरण सङ्कलन, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकारसँग आग्रह गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।