काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ । धुम्बाराहीस्थित स्मार्ट मलमा आयोजित कार्यक्रम दिउँसो एक बजेलाई तय भएको छ ।
‘आजको कार्यक्रमलाई मिडियामा अलग्गै बैठक भनिएको छ, तर बैठक भन्दापनि बधाई कार्यक्रम राखिएको हो,’ डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने । उक्त कार्यक्रममा समसामयिक वा आन्तरिक राजनीति र सर्वोच्च अदालतमा दायर गरेको रिटबारे छलफल समेत हुने जनाइएको छ ।
सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ । गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा समूहले अलग्गै गतिविधि गर्दै आइरहेको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्का र कोइरालाकै अगुवाइमा बधाई कार्यक्रम आयोजना गरिएको हो । उक्त समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसदहरूलाई सोमबार बधाइको कार्यक्रमसँगै पार्टीको आन्तरिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।
त्यस्तै भोलि मंगलबारदेखि १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरु सम्मिलित बैठक पनि आब्हान गरिएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।
निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।