काठमाडौं– साढे ३३ किलो सुन तस्करी प्रकरणमा नाइके भनिएका चेतन भण्डारीका मुख्य सहयोगीका रूपमा नाम जोडिएका सुशील खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाग्लुङ–१ का उम्मेदवार बनेपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ।
२०७५ सालमा सार्वजनिक भएको ३३ किलो सुन तस्करी प्रकरण देशकै चर्चित आपराधिक घटनामध्ये एक मानिन्छ। मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको तथ्य खुलेको थियो। सुन गायब भएपछि भरिया शाक्यको हत्या भएको घटनाले देशव्यापी आक्रोश निम्त्याएको थियो। त्यसपछि १५ वैशाख २०७५ मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको थियो।
उक्त प्रकरणमा मुख्य आरोपीका रूपमा चिनिएका चूडामणि उप्रेती ‘गोरे’सँग व्यावसायिक सम्बन्ध रहेको भन्दै ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीको नाम पनि अनुसन्धानमा जोडिएको थियो। भण्डारीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। मुद्दा दायरपछि उनी केही समय फरार रहेकामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिससमेत जारी गरिएको थियो। पछि उनी स्वयं अदालतमा उपस्थित भई १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
प्रहरी अनुसन्धानका क्रममा सुशील खड्का चेतन भण्डारीका निकट सहयोगी तथा ‘बाजेको सेकुवा’का प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत रहेको खुलेको थियो। सुन तस्करी प्रकरण सार्वजनिक भएको समय उनी व्यवस्थापन तहमा सक्रिय भूमिकामा रहेको आरोप सार्वजनिक दस्तावेजमा उल्लेख छ।
यही पृष्ठभूमिमा खड्कालाई रास्वपाले बाग्लुङ–१ बाट उम्मेदवार बनाएको विषयले पार्टीको ‘सुशासन’ र ‘नयाँ राजनीति’ को प्रतिबद्धतामाथि प्रश्न उठेको छ।
उम्मेदवारी सार्वजनिक भएसँगै बाग्लुङ–१ मा राजनीतिक प्रतिस्पर्धा थप तातिएको छ भने यो विषय चुनावी बहसको केन्द्र बन्ने संकेत देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।