काठमाडौं । प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनका लागि झापा–५ निर्वाचन क्षेत्र नेपाली राजनीतिको ‘हटसिट’ रूपमा देखिएको छ ।
झापा-५ मा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका केपी शर्मा ओली र जेनजी आन्दोलनका आह्वानकर्तासमेत रहेका काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह ‘बालेन’ बीच प्रतिस्पर्धा भइरहेको छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसले मन्धरा चिमरिया (पौडेल)लाई उम्मेदवार बनाएको छ भने स्वतन्त्र र विभिन्न अन्य पार्टीबाट गरी २४ जना उम्मेदवार झापा-५ मा मैदानमा छन् । नेकपा एमाले अध्यक्ष ओली झापा-५ बाट २०४८, २०५१, र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।
ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए भने झापा ५ बाट ०७४ सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । त्यसैगरी २०७९ को निर्वाचनमा पनि ओली भारी मतान्तरले विजयी भएका थिए ।
अर्कातिर सहकारी ठगीको आरोप लागेका रवि लामेछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन पनि यसअघि काठमाडौं महानगरपालिकामा भारी मतान्तरले विजयी भएका थिए ।
चार पटकका प्रधानमन्त्री भइसकेका ओलीका लागि झापा-५ किल्ला भन्दा पनि फरक पर्दैन । फागुन २१ गते हुने निर्वाचनमा ओलीलाई पराजित गरेर प्रधानमन्त्री बन्ने दाउमा बालेन देखिन्छन् ।
२०७९ मा भएको निर्वाचनको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार रहेका ओलीले ५२,३१९ मत प्राप्त गर्दा निकटम् प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले आधाभन्दा पनि कम २३,७४३ मत प्राप्त गरेका थिए ।
त्यस समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका सुरेशकुमार पोखरेल ११,७५९ मतमा चित्त बुझाउनु परेको थियो । यी आंकडाहरूले बालेनका लागि झापा-५ सहज भने छैन । तर, पाँच वर्षका लागि भएको निर्वाचनबाट बनेको संसद् जेनजी आन्दोलनका कारण पाँच वर्ष चल्न नसक्दा भइरहेको निर्वाचनलाई झापा-५ केन्द्र बनेको छ र यसलाई ‘मिनि जनमत संग्रह’ को रुपमा पनि व्याख्या गरिएको छ ।
झापा–५ लाई परम्परागत चुनाव क्षेत्रभन्दा बाहिरको प्रतिस्पर्धाको रूपमात्र नहेरी नेपाली राजनीति परिवर्तनका लागि केन्द्रिय रणभूमि जस्तै हेर्न थालिएको छ । उत्साह, असन्तोष, र नयाँ पुस्ताको आवाजले यो क्षेत्रलाई नयाँ राजनीतिक आयाम दिएको छ ।
ओलीले लामो समयदेखि कम्युनिस्ट आन्दोलन हुँदै राष्ट्रिय तहसम्म आफ्नो पहुँच र प्रभाव कायम गरेका छन् । दमक, गौरिगञ्ज, गौरादह लगायत क्षेत्रहरूमा विकास, सडक पुल र पूर्वाधारमा ओलीले उल्लेखनीय काम गरेका छन् ।
ओलीलाई मतदाताले राम्रोसँग बुझेका र चिनेका छन् । यद्पि अहिलेको राजनीतिक माहोलमा, बालेन युवा नेतृत्व र “जनताको आवाज” को प्रतिनिधित्वका रूपमा देखिएका छन् । उनलाई जेनजी आन्दोलनपछि पनि प्रधानमन्त्रीको अफर गर्दा समेत मौन बसेको आरोप लागिरहेको छ ।
यद्पि बालेनको सचिवालयका अनुसार भने यसअघि बुलेटबाट तर्सिएर छोटो समयका लागि भन्दा पनि ब्यालेटबाट चुनिएर देशको प्रधानमन्त्री बन्नका लागि उनी झापा-५ झरेका हुन् । ओलीलाई आफ्नै गढमा हराएर परिवर्तनको एजेन्डालाई स्थापित गर्ने बालेनले बताइरहेका छन् ।
बालेन र ओली दुबैले क्षेत्रमा गएर भेटघाट गरिसकेका छन् । हाल ओली क्षेत्रबाट काठमाडौं आइसकेका छन् भने बालेन देशदौडाहामा छन् । यो निर्वाचन क्षेत्रमा हाल १६३,३७९ मतदाता छन् । राजनीतिक विश्लेषकले रास्वपाले २०७९ मा पाएको ११,७५९ मत र समानुपातिक मतपरिणाम भन्दा पनि अहिलेको परिस्थितिले झापा-५ को मत परिवर्तन हुने सम्भावनालाई स्वीकार गरेका छन् ।
यदि बालेनले पुराना पार्टी मतदातालाई आफ्नो समर्थनमा ल्याउन सफल भए, मत परिणाम यसपटक अप्रत्याशित हुने संकेत देखिएको छ । यस पटकको झापा–५ चुनाव केवल दुई उम्मेदवार बीचको प्रतिस्पर्धा मात्रै होइन ।
यो दुई फरक राजनीतिक धार, शैली, पुस्ता र भविष्यका विचारहरू बीचको ‘ब्यालेट वार’ पनि हो । बालेनको देश दौडाहा, उनका सामाजिक सञ्जालमा व्यक्त हुने अभिव्यक्ति र उनका विगतका निर्णय र व्यवहार हेर्दा बालेन अपरिपक्व र अर्को शैलीमा भन्दा ‘अराजकवादी उम्मेदवार’ को रुपमा देखिएका छन् ।
त्यसैगरी अर्कातिर ओली विगतदेखि नै अरु राजनीतिज्ञलाई होच्याउने, सत्ताबाट बाहिरनु परे कुर्सी नै भाँच्ने अभिव्यक्ति दिने, सर्वोच्चले रोक लगाउँदा पनि पटक-पटक संविधानविपरीत संसद् विघटन गर्ने, झुद्र बोल्ने र अत्यधिक बदला भाव भएका अराजक राजनीतिज्ञ हुन् ।
राजनीतिले सधैँ अग्रगमन खोज्छ, पश्चगमन होइन । ओलीले यसअघि खुला पब्लिक डिबेटका लागि आफू तयार रहेको अभिव्यक्ति सामाजिक सञ्जालमा देएलगत्तै बालेनले उनलाई ‘हत्यारा करार’ गर्दै प्रतिक्रिया दिएका थिए । यसअघि प्रदेश संरचनाको काम छैन भन्दा मतदान नगर्ने बालेन अहिले संघीयताको पक्षपाती बन्दै भाषण गरिरहेका छन् ।
काठमाडौंमा उखु किसान र सहकारी पीडितले आन्दोलन गर्दा लखेट्ने तत्कालीन मेयर बालेन अहिले सबैका समस्या समाधान गर्ने वाचा गररहेका छन् । यसबाट पनि दुबैजना अराजकतालाई प्रश्रय दिने पात्र भएकोमा विमती छैन ।
विगतको मत परिणाम, अहिलेको परिवेश, झापा-५ का मतदाताको मनोविज्ञान र विकास निर्माणमा गरेको योगदानलगायतका विषयलाई हेरेर मतदाताले आफ्नो निर्णायक मत दिनेछन् ।
जित ओली वा बालेन जस्को भए पनि यस निर्वाचनबाट एक अराजक पात्रको राजनीतिक अवसान हुने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।