काठमाडौं। चीन गम्भीर जनसांख्यिक संकटतर्फ प्रवेश गरेको देखिएको छ। पछिल्ला अन्तर्राष्ट्रिय प्रतिवेदनहरूअनुसार चीनको जन्मदर ऐतिहासिक न्यून बिन्दुमा झरेको छ भने जनसंख्या निरन्तर घट्ने चरणमा प्रवेश गरिसकेको छ।
विश्लेषकहरूले यस अवस्थालाई अपरिवर्तनीय संरचनात्मक पतन को रूपमा व्याख्या गरेका छन्। साउथ चाइना मोर्निङ पोस्ट (SCMP) र वाशिङ्टन पोस्टले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२५ मा चीनमा जन्मिने शिशुको संख्या विगत ७ दशककै सबैभन्दा कम स्तरमा पुगेको छ।
सन् २०२४ मा सुरु भएको जनसंख्या संकुचन प्रक्रिया सन् २०२६ सम्म आइपुग्दा तीव्र बन्दै गएको देखिन्छ। विशेषज्ञहरूका अनुसार चीनको दशकौं लामो ‘एक सन्तान नीति’, बढ्दो जीवनयापन खर्च, आवास संकट, रोजगारी असुरक्षा तथा सामाजिक दबाबले युवापुस्तालाई विवाह र सन्तानप्रति विमुख बनाएको छ।
वाशिङ्टन पोस्टको सम्पादकीयमा चीनको जनसंख्या संकटलाई “राजनीतिक निर्णयबाट सिर्जित दीर्घकालीन सभ्यतागत क्षति” भनेर उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ, “अब चीनले नीति परिवर्तन गरे पनि जनसांख्यिक संरचना सुधार्न कम्तीमा दुई पुस्ता लाग्नेछ।” यस संकटको प्रत्यक्ष प्रभाव चीनको अर्थतन्त्र, श्रम बजार, सामाजिक सुरक्षा प्रणाली र सैन्य क्षमतामा समेत देखिन थालेको छ।
श्रमशक्ति घट्दै जाँदा उत्पादन लागत बढ्ने, कर संकलन घट्ने र वृद्ध जनसंख्याको सामाजिक सुरक्षामा राज्यको बोझ तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ। ब्लूमबर्ग र रोयटर्सका अनुसार चीनमा ६० वर्षभन्दा माथिको जनसंख्या २०३५ सम्ममा कुल जनसंख्याको ३० प्रतिशत नाघ्नेछ।
यस्तो अवस्थामा पेंशन, स्वास्थ्य र दीर्घकालीन हेरचाह प्रणाली धान्न नसक्ने अवस्था सिर्जना हुने खतरा बढ्दै गएको छ। भूराजनीतिक विश्लेषकहरू भन्छन्, “चीनको जनसंख्यिक पतनले उसलाई दीर्घकालमा सैन्य र आर्थिक प्रतिस्पर्धामा कमजोर बनाउनेछ। यो केवल आर्थिक समस्या होइन, शक्ति संरचनाको संकट हो।” यस अवस्थाले बेल्ट एन्ड रोड परियोजनाहरूमा समेत असर पार्न थालेको छ।
श्रम अभाव, लगानी क्षमता घट्नु र आन्तरिक खर्च बढ्दा चीनको बाह्य परियोजना सञ्चालन क्षमता कमजोर हुँदै जाने संकेत देखिएका छन्। विशेष गरी दक्षिण एशिया र अफ्रिकामा चीनले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरूमा अब वित्तीय पुनःसमिक्षा सुरु हुने सम्भावना प्रबल देखिन्छ।
विश्लेषकहरूका अनुसार चीन अहिले पोस्ट–ग्रोथ युग (Post-Growth Era) मा प्रवेश गरिरहेको छ, जहाँ आर्थिक वृद्धि भन्दा बढी जनसांख्यिक अस्तित्व नै प्रमुख चुनौती बन्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।