पाकिस्तानमा सत्ता कोसँग छ? यो प्रश्न किन सोध्नु पर्यो भने उत्तर इनकार गर्नै नसकिने छ — सेनासँग। प्रधानमन्त्री, संसद, राजनीतिक पार्टीहरू र न्यायालय सबै सैन्य निर्णायकताका छायामाथि बाँचिरहेका छन्। जस देशमा जनताले नेता छान्छन् तर सेनाले तिनै नेताहरूको भविष्य लेख्छ, त्यहाँ लोकतन्त्र होइन, सैनिक संरचनामा चल्ने राजनीति मात्र हुन्छ।
इमरान खानको अवस्थाले सन्देश दिएको छ — कुनै नेता लोकप्रिय भएर पनि सुरक्षित हुँदैन। आफ्नै छोराले “बुबा सुरक्षित छन् कि छैनन्?” सोध्नु पर्ने देश कस्तो लोकतन्त्रमा बाँचिरहेको छ? पत्रकारहरूमाथि दमन, अदालतमाथि नियन्त्रण र प्रतिपक्षमाथि प्रतिशोध — यी सबै मिलेर पाकिस्तानको राजनीतिक वातावरण भयको घेरामा परिणत भएको छ।
अर्थतन्त्रको हालत झन् दयनीय छ। सेनाले रणनीतिको नाममा गरेका गलत आर्थिक दाउपेंच, अफगानिस्तानसँगको हठी व्यापार नीतिले आफ्नै बजारमाथि घात गर्यो। कराचीजस्तो आर्थिक मेरुदण्डमा माफिया शासन, स्वास्थ्य–शिक्षामा गिरावट, युवामाथि बेरोजगारीको थुप्रिएको पहाड — यी सबैले पाकिस्तानलाई अस्थिर र अविश्वसनीय राज्य बनाइदिएको छ। IMF चेतावनी दिइरहँदा सेना बजेट बढाउने झन् ठूलो विडम्बना हो।
महिला अधिकार पाकिस्तानको सबैभन्दा अँध्यारो यथार्थ हो। बलात्कार, घरेलु हिंसा, honour killing बढिरहेको छ, तर दोष पीडितलाई नै लगाइन्छ। “पाकिस्तानमा एउटी महिलाले बाँच्नु भनेको आफ्नै अस्तित्वसँग निरन्तर लड्नु हो” — यो टिप्पणी कुनै नारीवादी नारामात्र होइन, सामाजिक यथार्थको प्रतिबिम्ब हो। महिलाको सुरक्षाभन्दा सेनाको शक्तिमा राज्य बढी चिन्तित देखिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।