ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको सुझाव पेस गरिँदैछ । प्रचार विभाग प्रमुख गौतमका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्ने छन् ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् । यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिने छन् ।
समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरेर बैठक समापन गरिने गौतमले जानकारी दिए ।
त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको गौतमले जानकारी दिए ।
ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिकलगायत सात प्रस्तावमाथि शनिबार विभिन्न १० समूहमा छलफल भएको थियो ।
महाधिवेशनमा देशभरबाट दुई हजार २६ प्रतिनिधि र आयोजककातर्फबाट तीन सय १५ जना गरी दुई हजार ३४१ जनाको सहभागिता छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।