काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ।
मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। बोधगया बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो। २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन। प्रधानमन्त्री ओलीको भारत भ्रमण र मोदीसँगको भेटवार्ताको तयारीबारे छलफलका लागि भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आएका छन्।
नेपालमा रहँदा उनले सचिवस्तरीय छलफल र उच्च पदस्थहरूलाई पनि भेट्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ। दुई देशबीचको आपसी चासो, विकास सहकार्य र कनेक्टिभिटीबारे छलफल हुने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको थियो।
परराष्ट्र मन्त्रालयले पनि भारतीय विदेश सचिवको आसन्न भ्रमण दुवै देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता र द्विपक्षीय सम्बन्धलाई अझै अगाडि बढाउने अवसर हुने भनेको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।