काठमाडौँ - प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएपछि नेपाली कांग्रेसले समितिको नेतृत्वमा कसलाई पठाउँछ भन्ने चासो सर्वत्र छ ।
खतिवडाले मंगलबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गरेपछि समितिमा रहेका कांग्रेसका केही सांसद सभापति बन्न प्रयासरत छन् । दलहरूबिच २०८० वैशाख ७ गते भएको भागबन्डामा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद कांग्रेसको भागमा परेको थियो । सोही आधारमा खतिवडा एकल उम्मेदवारीका आधारमा निर्विरोध निर्वाचित भएका थिए ।
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’ राख्न गरिएको व्यवस्थामा जालझेल भएपछि विशेष छानबिन समिति बनेको थियो । ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन आएको ७ दिनपछि मंगलबार नैतिकता देखाउँदै खतिवडाले राजीनामा दिएका हुन् ।
उनको राजीनामा सँगै कांग्रेसबाट समितिमा रहेका सांसदहरू सभापति बन्नका लागि लविइङका लागेका छन् । २७ सदस्य रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसबाट ९ सांसद छन् ।
खतिवडाका अतिरिक्त अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, गगन थापा, दीलेन्द्र प्रसाद बडू, पूर्णबहादुर खड्का, विश्वप्रकाशक शर्मा, सरिता प्रसाईं, हृदयराम थानी समितिमा कांग्रेसबाट सदस्य छन् । तीमध्ये समितिको सभापति बन्ने तीव्र आकाङ्क्षा महामन्त्री शर्माले देखाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।