काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपचुनावमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा समर्थन गर्ने भएको छ । हिजो मंगलबार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौंको शंखमुलमा सम्पन्न बैठकले विभिन्न ९ बुँदामा छलफल गरेको छ । उम्मेदवार समर्थनलाई प्राथमिकतामा राखिएको बैठकमा यसका अलावा निजामती सेवा ऐनमा राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गरिएको निर्णयमा भएको चलखेल संसदको घोर अपमान भएको र यसमा संलग्न अपराधीहरुलाई कडा कारवाहीको माग गरिएको छ ।
त्यस्तै, बैठकमा छुट्टै संवैधानिक अदालत बनाउनु पर्ने माग गर्नुका साथै रसुवामा आएको विपदबाट प्रभावित भएकाहरुलाई पुनर्वास र तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।
सरकार समक्ष किसानहरुलाई सहज सुलभ रूपमा मलखाद उपलब्ध गराउन समेत माग गरिएको बैठकले प्रधानमन्त्रीलाई सभ्यता, सँस्कृती र धर्मको बारे अप्रमाणित कुराहरु बोल्नु निन्ददिय ठहर गर्दै अशोभनीय भनाई फिर्ता लिन आग्रह गरेको छ ।
मोर्चाबारे जानकारी दिन यस अघि नै तय भएका ६ कार्यक्रमलाई थप गरि देशका विभिन्न ८ स्थानमा कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णय अनुसार श्रावण १७ गते काठमाडौं, २१ गते भैरहवा, २३ गते नेपालगञ्ज, २५ गते कैलाली, भाद्र १६ गते विराटनगर, भाद्र १८ गते राजविराज, भाद्र २० गते जनकपुर र भाद्र २२ गते विरगञ्जमा कार्यक्रम हुनेछन ।
बैठकले संविधान संशोधनसँग सम्बन्धित विषयहरुबारे पछि छलफल र बहस गर्दै साझा धारणा निर्माण तर्फ अगाडि बढ़ने र अहिलेको अप्राकृतिक सरकारी गठबंधनद्वारा गरिएको वाचा अनुसार संविधान संशोधनको सरकारी धारणा तत्काल सार्वजनिक गर्न आग्रह गर्ने निर्णय गरेको तथा मोर्चा र विभिन्न पहिचान पक्षधर समुहहरुद्वारा विभिन्न समयमा गरिएका संघर्ष, विद्रोह र आन्दोलनको क्रममा झुठा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीहरुलाई तत्काल मुद्दा खारेज गरि रिहा गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग पुनः माग गर्ने निर्णय गरेको खुलाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।