फिदिम । मेची राजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँचिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले अध्ययन सुरु गरेको छ ।
समितिले हेवा खोलामा भाँचिएको पुलको स्थलगत अध्ययनसँगै काम थालेको हो । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा खटिएको समितिले मंगलबार घटनास्थलमा पुगेर जडान प्रविधि, लोड व्यवस्थापन तथा प्राविधिक पक्षहरूको अध्ययन सुरु गरेको हो । समितिले सात दिनभित्र अध्ययन प्रतिवेदन प्रतिवेदन बुझाउने बताइएको छ ।
स्थलगत अध्ययनपछि थप प्राविधिक मूल्याङ्कन गरी प्रतिवेदन मन्त्रालयमा बुझाइने उपमहानिर्देशक खनालले बताउनुभयो । उहाँका अनुसार कमजोरी सच्याएर मोडुलर ब्रिज जडानको कार्य पुनः अघि बढाइनेछ । ब्रिज उपलब्ध गराउने भारत सरकारसँग पनि समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।
इलाम सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार भाँचिएको ब्रिजका कारण झण्डै २० प्रतिशत सामग्री बिग्रिएको छ । ‘केही दिनभित्र क्रेन प्रयोग गरी भाँचिएको ब्रिज खोल्ने काम सुरु गर्छौं,’ उहाँले भन्नुभयो ।
हेवाखोलामा सन् २०८० मा पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । पुनः २०८१ असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि मोडुलर ब्रिज जडानको कामअघि बढाइएकोमा जडानको काम सकिनै लाग्दा जेठ ३१ गते भाँचिएको थियो ।
ब्रिज भाँचिएर गम्भीर घाइते भएका सिमरा उपमहानगरपालिका, बारा–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको निधन भएको थियो भने थप तीनजना घाइते भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।