अपरेशन सिन्दूर सम्पन्न भएपछि भारतले अन्तर्राष्ट्रिय कूटनीतिक स्तरमा व्यापक सक्रियता देखाएको छ। सीमापार आतङ्ककारी संरचनामाथि लक्षित कारबाही सफल भएपछि भारतले एकसाथ संसारका विभिन्न मुलुकहरूमा आफ्नो सन्देश पुर्याउन संसदको सर्वदलीय प्रतिनिधिमण्डल पठाएको छ। जापान, स्लोभेनिया, कतार, रुस, जर्मनी, दक्षिण कोरिया लगायत देशहरूमा भारतले आतङ्कवादविरुद्धको आफ्नो अडान स्पष्ट रूपमा राख्दै विश्व समुदायसँग ऐक्यबद्धता खोजेको छ।
भारतको कूटनीतिक प्रयासको केन्द्रमा रहेको सन्देश हो– शून्य सहिष्णुता। भारतले आतंकको कुनै भौगोलिक सीमा हुँदैन र यस्तो खतरा कुनै पनि देशमा फैलिन सक्छ भन्ने दृष्टिकोणबाट संवाद अघि बढाएको छ। आतङ्कवादविरुद्धको लडाइँ केवल भारतको एकल संघर्ष होइन, सम्पूर्ण विश्व समुदायको साझा जिम्मेवारी हो भन्ने धारणा भारतले प्रस्तुत गर्दै आएको छ। यही सन्देश लिएर भारतका सांसदहरू विभिन्न राष्ट्रहरूको भ्रमणमा छन् र त्यहाँका सांसद, मन्त्री र नीतिनिर्माताहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
यसबीच जर्मनी, जापान र स्लोभेनियाजस्ता मुलुकहरूले भारतको आत्मरक्षा अधिकारप्रति समर्थन जनाएका छन्। कतारमा भारतीय टोलीले शूरा परिषद्सँग भेट गरेर सीमापार आतङ्कवादका विषयमा आफ्नो चिन्ता साझा गरेको छ। कतिपय मुलुकले भारतको प्रतिरोधलाई आवश्यक र सन्तुलित कदमको रूपमा लिएका छन् भने केहीले आतङ्कवादविरुद्धको विश्वव्यापी मोर्चा निर्माणमा भारतको प्रयासलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रवासी भारतीय समुदायले पनि भारतको पक्षमा आवाज उठाइरहेका छन्। बहराइन, कोरिया र अन्य देशहरूमा रहेका भारतीयहरूले अपरेशन सिन्दूरको समर्थनमा कार्यक्रम आयोजना गरेका छन्। उनीहरूले पाकिस्तानप्रति आक्रोश व्यक्त गर्दै आतङ्कवादको मूख्य स्रोतको रूपमा चिनाएका छन्। सार्वजनिक स्थलमा भेला भएर भारतको सुरक्षा नीति र साहसी कदमको समर्थनमा नाराबाजी गरिएको छ।
यसैक्रममा भारतले कूटनीतिक रूपमै पाकिस्तानमाथि दबाब सिर्जना गर्ने रणनीति लिएको देखिन्छ। अब भारत केवल सीमामा जवाफ दिने देश होइन, अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि स्पष्ट रूपमा बोल्ने राष्ट्र बनेको छ। भारतले आफ्ना पीडा र सुरक्षासम्बन्धी चिन्ताहरू अब केवल गुनासोको रूपमा होइन, प्रमाण र नीति सहित विश्वसमक्ष राखिरहेको छ।
पूर्व अमेरिकी अधिकारीहरूसमेत भारतको अपरेशनलाई सही ठहर गर्दै आतङ्कवादका विरुद्ध यस्ता निर्णायक कदमको समर्थनमा उभिएका छन्। भारतले पछिल्लो समय कूटनीतिक रूपान्तरण गर्दै ‘संयमशील राष्ट्र’ को छवि त्यागेर ‘प्रतिक्रिया दिन सक्ने राष्ट्र’ को रूपमा आफूलाई प्रस्तुत गरेको छ। यस्तो शैलीमा देखिएको दृढता र रणनीतिक दृष्टिकोणले भारतको वैश्विक हैसियत थप बलियो भएको छ।
अपरेशन सिन्दूर अब केवल एक सैन्य कारबाहीको नाम होइन, भारतको सुरक्षा दृष्टिकोणमा आएको परिवर्तनको प्रतीक बनेको छ। कूटनीति र सैन्य रणनीति मिलाएर भारतले आजको विश्वलाई सन्देश दिएको छ– हामी शान्ति चाहन्छौं, तर कमजोरी देखाएर होइन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।