काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ ।
यसैगरी प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।
यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।
यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।