काठमाडौँ । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । सो सहमति आफूहरूलाई मान्य नहुने बताउँदै कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका हुन् ।
सरकार र शिक्षक महासंघबिच बुधबार ९ बुँदे सहमति भएको थियो । सो सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालयमा राखिएको थियो । कार्यक्रममा असन्तुष्ट कर्मचारीहरूले होहल्ला गर्दै विरोध जनाएका छन् ।
विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले वि.सं. २०७९, २०८० र २०८१ मा आन्दोलनमा विद्यालय कर्मचारीको पक्षमा न्याय नभएको बताए । उनले भने, ‘सरकारसँग हिजो भएको सहमतिमा पनि विद्यालय कर्मचारीको पक्षमा केही भएन ।
कर्मचारीको सञ्चित बिदाको विषयमा लेखिएन । त्यस्तै, तलबमानको विषयमा विद्यालय कर्मचारीमा श्रेणीविहीन छ, कार्यालय सहयोगी । उनीहरूलाई २६ हजार ८२ र लेखाका साथीहरूका ३४ हजार ९०० दिनुहोस् भनेर भन्यौँ । तर, त्यो पनि मानिएन ।’
उनले सरकारले शिक्षकहरूलाई ललिपप देखाएको र त्योभन्दा महासंघले आफूहरूलाई ठुलो ललिपप देखाउने काम भएको आरोप लगाए । ‘त्यो ललिपपमा हामी भुल्दैनौँ,’ योगीले भने ।
उनले अब आफूहरू कसैको पक्षमा नलागी छुट्टै आन्दोलन गर्ने बताए । ‘सहमतिमा हामीलाई उपेक्षा गरियो । आवाज उठाउँदा दबाउन खोजियो । हामीले समीक्षा बैठक बोलाएका छौँ । अब छुट्टै आन्दोलन कार्यक्रमको घोषणा गर्छौँ । एक वर्षसम्म पनि सडकमा रहन तयार छौँ ।’
उनले शिक्षक आन्दोलनमा आर्थिक सहयोग पनि अपारदर्शी भएको आरोप लगाए । ‘महासंघको स्थापना कालदेखि लक्ष्मीकिशोर सुबेदी दुई कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्ष हुनुभयो ।
उहाँको नेतृत्वमा ठुलो आर्थिक घोटाला भएको छ । यो कुरा लुकाएर राखिएको छ । यो आन्दोलनमा पनि थुप्रो पैसा उठेको छ । यहाँ घोटाला भएको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।