काठमाडौं । पाकिस्तानमा स्थापित एक गैरसरकारी संस्था (एनजिओ) ‘हेल्पिङ ह्याण्ड फर रिलीफ एन्ड डेभलपमेन्ट’ (HHRD) लाई आतङ्ककारी संगठन लश्कर-ए-तोयबासँग जोडिएको भन्दै अमेरिकी सांसदले गम्भीर चिन्ता व्यक्त गरेका छन्। अमेरिकी प्रतिनिधिसभाको विदेश मामिला समितिका अध्यक्ष माइकल टी. मक्कोलले २०२३ जनवरी २४ मा युएसएआईडी (USAID) लाई लेखेको पत्रमा HHRD लाई दिइएको आर्थिक सहयोग तत्काल रोक्न र अनुसन्धान गर्न निर्देशन दिएका छन्।
पाकिस्तान र अमेरिकामा बसोबास गर्ने पाकिस्तानी मुलका नागरिकहरूले सुरु गरेको यो संस्था हाल काठमाडौंको महाराजगञ्जमा रहेको कार्यालयमार्फत सञ्चालनमा छ, जुन पाकिस्तानी दूतावास नजिकै अवस्थित छ। यो संस्थाले लश्कर-ए-तोयबासँग समन्वय गर्दै नेपालमा गतिविधि गरिरहेको भन्दै गम्भीर आपत्ति उठाइएको छ। हालै भारतीय क्षेत्र कश्मीरको पहलगाममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या गर्ने कार्यमा संलग्न रहेको लश्कर-ए-तोयबासँग HHRD को सम्बन्ध रहेको दाबी गरिएको छ।
संस्थाका पूर्व देश निर्देशक तथा ASEAN क्षेत्रका क्षेत्रीय निर्देशक सैयद खालिद मोसिन कट्टरपन्थी पाकिस्तानी मानिन्छन्, जसको सम्बन्ध लश्कर-ए-तोयबासँग रहेको छ। उनका पिता सैयद आबिद शाह पाकिस्तानको रहिम यार खान जिल्लाका जमात-ए-इस्लामीका अमीर (प्रमुख) थिए। नेपालमा हाल कार्यक्रम व्यवस्थापकका रूपमा कार्यरत इरफान पोखरेल उर्फ जिवप्रसाद पोखरेलले पनि लश्करको कठोर इस्लामवादी विचारधारा फैलाउने कार्यमा संलग्नता देखाइएको छ।
कांग्रेस सदस्य मक्कोलले USAID लाई सम्बोधन गर्दै HHRD सँग सम्बन्धित सबै प्रक्रिया, प्रमाणपत्र, समन्वय, मूल्याङ्कन तथा निगरानीसम्बन्धी विवरणहरू फेब्रुअरी ७, २०२३ भित्र उपलब्ध गराउन निर्देशन दिएका छन्। विदेशी सहायता र मानवतावादी गतिविधिको आडमा आतङ्ककारी संगठनहरू विस्तार हुन सक्ने जोखिमबारे यो घटनाले नेपालमा पनि सतर्कता अपनाउनुपर्ने आवश्यकता देखाएको छ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।