काठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए ।
प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।
प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रशारण निर्देशक राजु भण्डारीले जानकारी दिए ।
‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ ।
तर शिक्षक महासंघका नेताहरुले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।