सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तीनकुनेमा बन्दुक खोस्ने सैनामैनाका गोपालको बयान : कसले लग्यो पत्तै भएन

तीनकुनेमा बन्दुक खोस्ने सैनामैनाका गोपालको बयान : कसले लग्यो पत्तै भएन

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १० २०८२

  • 2.1K
    SHARES

  • तीनकुनेमा बन्दुक खोस्ने सैनामैनाका गोपालको बयान : कसले लग्यो पत्तै भएन

    काठमाडौं । तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला पर्न सकेको छैन । बन्दुक खोस्ने युवकलाई पहिचान गरेर पक्राउ गरिए पनि करिब महिना दिन बित्न लाग्दा समेत प्रहरीले बन्दुक फेला पार्न सकेको छैन ।

    बन्दुक खोस्ने रुपन्देहीको सैनामैना नगरपालिका–१ घर भएका ३८ वर्षीय गोपाल मल्ललाई प्रहरीले १७ चैतमा पक्राउ गरेको थियो । काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ल भिमसेन गोलाबाट पक्राउ परेका थिए ।

    तर अहिलेसम्म बन्दुक भने फेला नपरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बन्दुक खोस्ने मल्लसँगै सोधपुछ गर्नुका साथै बयानको काम समेत भएको छ ।

    बन्दुक खोसेको मल्लले स्वीकार गरे पनि उक्त बन्दुक कहाँ गयो भन्नेबारे केही खुलाएका छैनन् । उनको बयानलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘बन्दुक खोसेको हुँ । भीडभाडमा कसले लग्यो, कता लग्यो मलाई थाहा भएन ।’

    १५ चैतमा राजावादीको आन्दोलनमा तीनकुनेको मार्बल हाउस नजिकै चेपमा आन्दोलनकारीले प्रहरीमाथि ढंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीको बन्दुक खोसेर चौरतर्फ भागेका थिए । त्यतिबेला आन्दोलनकारीले नै प्रहरीमाथि आक्रमण गरेका थिए । एक महिला प्रहरी भुइँमा लडेर रुँदै याचना गरिरहेको भिडिओ भाइरल छ । मल्लले खोसेको उक्त बन्दुक सशस्त्र प्रहरी बलको ग्यास गन रहेको बताइएको छ ।

    प्रहरीको उक्त बन्दुक खोसेको फोटो खिच्दै गर्दा प्रदर्शनकारीको आक्रममा परी अनलाइनखबरकर्मी दिनेश गौतम घाइते भएका थिए ।

    दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

    झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

    राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रहरीको बन्दुक लुटियो । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १० २०८२०४:५६:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend