काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न भारत सरकार तयार रहेको भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले बताउनुभएको छ । दुईदिने भ्रमणका क्रममा मंगलबार (आज) नेपाल आउनुभएका खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको साथमा भारतीय लगानीमा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गर्नुभएका खट्टरले आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो ।
ऊर्जा मन्त्री खड्कासँग संयुक्त रूपमा आयोजनाको ‘युनिट–२’ को उद्घाटन गर्नुभएका खट्टरले वृक्षरोपणसमेत गर्नुभएको छ ।
अवलोकनका क्रममा मन्त्री खड्काले अरुण तेस्रो आयोजना देशकै महत्वपूर्ण जलविद्युत आयोजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको र सरकारका तर्फबाट कुनै कमी कमजोरी हुन नदिने बताउँदै उर्जा क्षेत्रमा भारतको भूमिका महत्वपूर्ण रहेको भन्दै धन्यवाद समेत दिनुभएको थियो ।
जलविद्युत क्षेत्रमा अपार सम्भावना भएको मुलुक नेपाल भएको उल्लेख गरेका खट्टरले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताउँदै अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने बताउनुभएको थियो ।
९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन छ ।
उक्त आयोजनाको विसं २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । एक खर्ब चार अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।