आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा

पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १९ २०८१

  • 1.3K
    SHARES

  • पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अस्थिरता सिर्जना गर्दै शासन–सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन्।

    रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहमा महामन्त्री थापाले १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट गरेको बताए। उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ। आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ। यसमा लुकेको केही छैन। तर, उहाँको चाहना पूरा हुँदैन।”

    महामन्त्री थापाले नेपालमा बेलायतको जस्तो संवैधानिक राजतन्त्र हुन नसक्ने बताए। उनले भने, “यहाँको राजसंस्था बेलायतको जस्तो होइन रहेछ। संवैधानिक भएर बस्न पटकपटक मौका दिँदा पनि यहाँका राजाहरूले शासन हातमा लिइरहे। त्यसपछि हामीसँग दुई विकल्प थिए – राजाको शासन कि जनताको शासन। नेपाली कांग्रेसले अनुभव, विवेक र ज्ञानको आधारमा अधिवेशनबाटै संवैधानिक राजतन्त्रलाई हटाएर गणतन्त्रलाई संस्थागत गरेको हो।”

    थापाले कांग्रेसको इतिहास स्मरण गराउँदै भने, “राजा त्रिभुवन नेपाल छाडेर भारत जाँदा बीपी कोइरालाले त्यतै छोडेर आउन पनि सक्नुहुन्थ्यो। तर, उहाँ त्रिभुवनलाई लिएर आउनुभयो। राजा महेन्द्रले २०१७ सालमा सैनिक ‘कू’ गर्दै जननिर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष जेल हाले। बीपी र गणेशमानले जति नै दुःख पाए पनि हामी संवैधानिक राजतन्त्र चाहन्छौं भनिरहनुभयो।”

    तर, दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रलाई गद्दीमा बसाउँदा पनि उनी संवैधानिक बन्न असफल भएको भन्दै थापाले भने, “गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाई राजगद्दीमा बसाएकै हो। तर, उनी संवैधानिक बस्न तयार भएनन् र माघ १९ को कदम चाले।”

    माघ १९ को कदम चाल्नु अघिल्लो दिन शेरबहादुर देउवाले राजालाई भेटेर प्रजातन्त्र नमास्न आग्रह गरेको तर भोलिपल्टै देउवालाई जेल हालेको प्रसंग थापाले उल्लेख गरे।’

    गगन थापाले आफू पनि राजसंस्थाप्रति आस्थावान रहेको स्मरण गर्दै भने, “दरबार हत्याकाण्डमा राजा वीरेन्द्र मारिँदा १३ दिनसम्म कपाल खौरिएर पशुपतिको पारिपट्टी दिनभर बसेर फर्किन्थें। अभिभावक गुमाएको जस्तो लाग्थ्यो।”

    उनले राजतन्त्रप्रति आफ्नो धारणा परिवर्तन भएको उल्लेख गर्दै भने, “मलाई पहिलोपटक राजद्रोहको मुद्दा लागेपछि अदालतमा संविधान मान्छु, राजतन्त्र मान्छु भनेर बयान दिएको थिएँ। तर, दोस्रोपटक पनि राजद्रोहको मुद्दा लगाएपछि संविधान मान्दिनँ, राजतन्त्र मान्दिनँ भनेर बयान दिएँ। कलिलो उमेर थियो। तर, एक-दुई वर्षको अन्तरालमै जे अनुभव गरियो, त्यसले अब राजा बोक्न सकिँदैन भन्ने स्पष्ट बनायो।”

    थापाले गणतन्त्र अब नेपालमा स्थायी भइसकेको दाबी गर्दै भने, “अब नेपालमा पुन: राजतन्त्र फर्किने सम्भावना छैन। पूर्वराजा ज्ञानेन्द्र शाह सत्ताकब्जा गर्ने खेलमा हुनुहुन्छ। तर, उहाँको चाहना पूरा हुँदैन। नेपाली कांग्रेस गणतन्त्रको रक्षा गर्न सधैं अग्रसर रहनेछ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १९ २०८११२:४२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend