श्रीलंकाका राष्ट्रपति अनुर कुमार डिसानायकेको हालैको चीन भ्रमणपछि श्रीलंका फेरि चिनियाँ ऋणजालमा अझ गहिरो गरी फस्न सक्ने आशंका व्यक्त गरिएको छ। मध्य-जनवरीमा चार दिनसम्म चलेको यस भ्रमणका दौरान चीन र श्रीलंकाबीच करिब ३.७ अर्ब अमेरिकी डलर मूल्यको तेलशोधन कारखाना (रिफाइनरी) निर्माणसम्बन्धी सम्झौता भए पनि श्रीलंकामा यसले थप आर्थिक दबाब सृजना गर्न सक्ने विशेषज्ञहरूको चेतावनी छ।
चीनद्वारा अघि सारिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण भएका परियोजनाहरू—जस्तै लोटस टावर, मट्टाला राजपक्ष अन्तर्राष्ट्रिय विमानस्थल, हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाह, हम्बनटोटा सम्मेलन केन्द्र र कोलम्बो पोर्ट सिटी—पहिल्यै घाटामा गएका उदाहरणहरूले श्रीलंकाको अर्थतन्त्र २०२२ र २०२३ मा गम्भीर संकटमा धकेलिसकेका थिए। त्यसैका बाबजुद नयाँ परियोजनामा आउने अतिरिक्त ऋण व्यापकरूपमा बढ्न सक्ने आशंका बढेको हो।
चीनबाट लिइएका ऋण हालसम्म श्रीलंकाको कुल बाह्य ऋणको झन्डै ५२ प्रतिशत हिस्सा ओगट्छन्। उच्च ब्याजदर र छोटो अवधि राखिएका यी ऋणहरू तिर्न गाह्रो भएपछि श्रीलंका सन् २०२३ मा चरम आर्थिक संकटबाट गुज्रियो, जहाँ इन्धन जस्ता अतिआवश्यक वस्तु खरिदका लागि विदेशी मुद्राको समेत अभाव थियो। त्यसबेला धेरै प्रयत्नपछि मात्र चीन राजी भएको भन्दै श्रीलंकाली जनता र विश्लेषकहरूबीच चीनप्रति वितृष्णा बढेको थियो।
तेलशोधन कारखाना बनाउँदा चीनका जहाजहरूलाई हम्बनटोटा क्षेत्रका बन्दरगाहहरूमा आवतजावत सहज हुने आँकलन गरिएको छ, जसबाट चीनले सामरिक सूचनाहरू संकलन गर्ने संभावना बढ्ने विश्लेषकहरू बताउँछन्। एकातिर श्रीलंका विद्यमान ऋण तिर्न समेत संघर्षरत छ, अर्कातिर विशाल रकम लगानीका लागि चीनसँग थप सम्झौता गर्नु जोखिमपूर्ण निर्णय हुन सक्ने चेतावनी अर्थविद्हरू दिइरहेका छन्। भविष्यमा कुनै अर्को आर्थिक दुर्घटनाले श्रीलंकाका सम्पत्तिहरू थप चिनियाँ स्वामित्वमा जान सक्ने भय उनीहरूले व्यक्त गरेका छन्।
राष्ट्रपति डिसानायकेको चीन भ्रमणका क्रममा देखिएको भव्य स्वागत र शी जिनपिङका “नयाँ सहयोग र अनुकूल वातावरण सिर्जना गर्ने” भन्ने कूटनीतिक अभिव्यक्तिपछि श्रीलंका-चीन सम्बन्ध आगामी दिनमा झन् सघन हुने देखिन्छ। तर यी असाधारण शब्दहरूले श्रीलंकाको आर्थिक संकट समाधान गर्ने वा अझ गहिरो ऋणचक्रतर्फ धकेल्ने भन्ने प्रश्न यथावत् रहिरहने धेरैको ठम्याइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।