चीनले २०२४ मा पनि मानवअधिकार उल्लङ्घनलाई निरन्तरता दिँदै आफ्नो दमनकारी गतिविधि अझ सुदृढ पारेको छ। सी जिनपिङ नेतृत्वको सरकारले नागरिक स्वतन्त्रता र सञ्चारमाध्यमको स्वतन्त्रतालाई झन् खुम्च्याउँदै आलोचनाको केन्द्रबिन्दु बनेको छ। मानवअधिकार हेरचाह संगठन (HRW) को २०२५ को विश्व प्रतिवेदनले चीनमा मानवअधिकारको अवस्था प्रति कडा आलोचना गरेको छ।
यो प्रतिवेदनले तिब्बती समुदाय, उइघुर मुस्लिम तथा हङकङका नागरिकमाथि सरकारको दमनकारी नीतिबारे प्रकाश पारेको छ। HRW का एसोसिएट चीन निर्देशक माया वाङले चिनियाँ सरकारको दमनकारी कदमलाई लिएर भनिन्, "सरकारले दमनकारी कानुन बलियो बनाउँदै, आलोचकहरूलाई कैदमा राख्दै, र मानवअधिकार उल्लङ्घनबारे जानकारी दिन झनै कठिन बनाएको छ।" तिब्बतमा, स्थानीय भाषाको उपेक्षा, व्यापक बसाइँसराइ, र वातावरणीय क्षतिका विषयमा चिन्ता व्यक्त गर्नेहरूलाई कठोर सजाय दिइएको छ।
उइघुर समुदायमाथि पनि सरकारले व्यापक दमन गरेको छ। लाखौं उइघुरहरू "स्ट्राइक हार्ड अभियान" अन्तर्गत प्रक्रिया विना नै लामो जेल सजायमा परेका छन्। यसैगरी, हङकङमा राष्ट्रिय सुरक्षा कानुनको नाममा नागरिक स्वतन्त्रतालाई समाप्त पारिएको छ।
सञ्चारमाध्यममाथि गरिएको दमनले पनि धेरैलाई त्रसित बनाएको छ। थुप्रै सञ्चारकर्मी र अधिकारकर्मीलाई गिरफ्तार गरिएको छ। केही पत्रकारले लामो जेल सजाय भोग्नुपरेको छ भने कतिपय मिडिया कार्यालयहरूले हङकङ छोड्न बाध्य हुनुपरेको छ।
चिनियाँ मानवअधिकार रक्षकहरू निरन्तर राज्यद्वारा प्रताडित छन्। गाओ झिशेङ, पेङ लिफा जस्ता व्यक्तिहरू अझै बेपत्ता छन् भने थुप्रै अधिकारकर्मीलाई अन्यायपूर्ण मुद्दामा सजाय सुनाइएको छ।
सी जिनपिङको केन्द्रीकृत नीतिका कारण चीनमा स्वतन्त्र अभिव्यक्ति, धार्मिक स्वतन्त्रता र नागरिक समाजको अधिकार झन् कुण्ठित भएको प्रतिवेदनले देखाएको छ। विदेशी सरकारहरूले चीनको बिग्रँदो मानवअधिकार अवस्थाप्रति तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनले जोड दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।