काठमाडौं-नेपाल प्रहरीले कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा रवि लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउने रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए पनि मंगलबार मुद्दा दर्ता हुने वा नहुने बार यकिन भइसकेको छैन।
प्रहरीले लामिछानेलाई सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन राय दिएको छ। प्रहरीले प्रतिवेदन बुझाएसँगै अबको केही दिनमा नै अदालतमा मुद्दा दर्ता हुनुपर्छ। सरकारी वकिलको कार्यालय कास्कीले अहिले अभियोजनको काम गरिरहेको छ।
भ्याएसम्म मंगलबार नै अदालतमा मुद्दा दर्ता गर्ने नभ्याएमा थप हिरासतमा राख्न म्याद माग्ने तयारी सरकारी वकिल कार्यालयको देखिन्छ। अहिले प्रहरीले पक्राउ परेका, कारागारमा रहेका र पक्राउ पर्न बाँकी रहेकासहित ५१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको हो।
यस्तै प्रहरीले एक अर्ब ५१ करोड हाराहारीमा बिगो रकमको माग दावी गरेको छ। रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। त्यस्तै, रामप्रसाद खनाललाई कात्तिक ९ गते पक्राउ गरिएको थियो।
लामिछानेसहित चारै जनाविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान भइरहेको छ।
चितवनमा सहारा सहकारी, रूपन्देहीको सुप्रिम सहकारी, पर्साको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा उनीहरूविरूद्ध अनुसन्धान भइरहेको थियो।यी सहकारीबाट गोर्खा मिडिया प्रालि र नेचर्स हर्ब्स लगायतमा ऋण गएको र ती रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट देखिएको छ।
संसद्धीय छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अदालतले लामिछानेलाई प्रकाउ गरी अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने प्रहरी हिरासतमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।