काठमाण्डु – गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको गृहमन्त्री लेखकको सचिवालयले जानकारी दिएको छ ।
भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिए ।
गृह सचिब गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।
नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह गरे । “नेपाल–भारतबिच सदियौ पुरानो सम्वन्ध रहेको छ,” गृहमन्त्री लेखकले भने, “सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबिचको सम्वन्ध थप बलियो हुनेमा विश्वस्त छु ।”
भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।