काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् ।
अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गरेका थिए । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका थिए ।
त्यसैगरी जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका थिए । अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताए ।
अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग-अलग भेटवार्ता गरेका थिए । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गरेका थिए ।
अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका गएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।