भारत प्रशासित जम्मु–कस्मिरमा दश वर्षपछि बुधबार विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।
त्यसबेलादेखि सङ्घीय रूपमा नियुक्त गभर्नरले यस क्षेत्रलाई नियन्त्रण गर्दै आएका छन् । एक दशकमा भएको पहिलो विधान सभाको निर्वाचनलाई धेरैले व्यावहारिक नीतिभन्दा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा हेरेका छन् ।
श्रीनगरको मुख्य सहर नजिकै पुल्वामामा मतदान गर्ने पहिलो मतदाता ३१ वर्षीया नाभिद पाराले भने ‘दश वर्षपछि हाम्रो आवाज सुनिने भएको छ । म मेरो आवाजको प्रतिनिधित्व गर्न चाहन्छु ।’ पैतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।
मोदीले जनतालाई ‘भारी सङ्ख्यामा मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन’ आग्रह गरेका छन् ।
विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कस्मिरमा तीन चरणमा हुने निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभरि सुरक्षा व्यवस्था कडा पारिएको छ । जम्मु–कस्मिरमा सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।