गोरखा - लामो समयपछि चीनसँगको व्यापारिक नाका खुल्दा खुसी भएका चुमवासीहरू चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमानित भएका छन्। चुमनुब्री गाउँपालिका–१ स्थित रुइला नाका भदौ ५ गतेदेखि खुलेको थियो भने वडा नं. ७ स्थित ङुइला नाका भदौ ४ गतेदेखि छोटो समयका लागि खुल्ला भएको थियो। रुइला नाका २० दिन चलेर सोमबारदेखि बन्द भएको छ भने ङुइला नाका अझै केही दिन खुल्ला रहनेछ।
नाकाबाट सामान किनमेलका लागि स्याक बजार पुगेका स्थानीयहरूले चिनियाँ सुरक्षाकर्मीको दुर्व्यवहार र कुटपिट सहनु परेको गुनासो गरेका छन्।
उनीहरूलाई नाकामा पुगेपछि फोटो खिचेर स्याकका सुरक्षाकर्मीलाई पठाइन्थ्यो र स्याक बजार पुगेपछि ठूलो सपिङ मलजस्तो स्थानमा लगेर थुन्थ्यो। त्यहाँबाट बाहिर निस्किन खोज्दा सुरक्षाकर्मीले हातपात गर्ने गरेको र स्थानीय व्यापारीहरूले मनपरी मूल्यमा सामान बेच्ने गरेको गुनासो स्थानीयहरूले गरेका छन्।
व्यापारीहरूले पुराना सामानहरू थोपरेर पठाएको, सामानको मूल्य दिनदिनै बढाइएको, र पसल छान्न नदिइएको गुनासो पनि छ। गाउँका युवाहरूले चिनियाँ सुरक्षाकर्मीबाट कुटपिट खेप्नुपरेको भन्दै, त्यहाँबाट फर्केका स्थानीयले ठूलो अन्याय भोग्नुपरेको बताएका छन्। साथै, जडिबुटीहरू राम्रो मूल्यमा बेच्न नपाएको र चिनियाँ व्यापारीहरूले आफ्नो मनपरी मूल्यमा सामान किनेर बेच्न बाध्य बनाएको पनि उनीहरूको गुनासो छ।
नाकामा व्यापारको लागि पुगेका स्थानीयले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट भोग्नुपरेको अपमानप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।