काठमाडौं - अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा आइतबार जारी प्रेस रिलिज अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।
यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्ने विज्ञप्तिमा उल्लेख छ । यो २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा नेरु. १६.९३ अर्ब रुपियाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको भारतीय दूतावासद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यस यता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ । भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ)को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ ।
जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतीय दूतावासले जनाएको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ ।
बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागि मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।