काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ ।
तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म गर्नु ठिक हुने समितिले बताएको छ । समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । सो तिथिलाई देखाएर गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भइरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।
समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १: ३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।
समितिले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताएको छ ।
समितिले विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिएको बताएको छ । समितिले साउन ३१ मै जारी गरेको विज्ञप्तिमा भनेको छ- ‘यस बीचमा गणस्तान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाँध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।