काठमाडौं - नेपालका लागि हिरोको आधिकारिक बिक्रेता चौधरी समूहले लिएको छ। उत्पादक कम्पनी हिरो मोटोकर्पले हिरोको आधिकारिक बिक्रेतामा सीजी मोटर्सलाई छनोट गरिएको जनाएको छ।
नेपालमा लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपबाट अधिकृत बिक्रेता खोसिएको छ। ज्योति समूहले हिरोको प्रोडक्ट खासै बेच्न सकेको थिएन । पारिवारिक कलहका कारण हिरोको बिक्री खस्किँदै गएको थियो ।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधारसमेत बनाउने भएका छन्। यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने विज्ञप्तिमा उल्लेख छ। हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय शाहले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
नेपालमा एक्सपल्स २००, एक्सपल्स २०० टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकलहरु रहेका छन्। मोटरसाइकलबाहेक हिरोका स्कुटर पनि लोकप्रिय छन् ।
सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताका रूपमा विश्वव्यापी मान्यता प्राप्त हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित बनेको प्रतिक्रिया दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।