काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबारे टिप्पणी गर्ने माल्दिभ्सका तीनजना मन्त्रीको पद खुस्केको छ ।
उनीहरूले सामाजिक सञ्जालको पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतंककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ ।
निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् । तीनैजनाले सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् ।
राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिएका छन् । मोदीबारे टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।
राष्ट्रपति मुइज्जूले भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र माल्दिभ्सबीच तनाव उत्पन्न भएको थियो । माल्दिभ्सका मन्त्रीहरूको टिप्पणीपछि केही भारतीयहरूले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा गरेका छन् ।
गएको वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय थिए । चीनसँग नजिक भनिएका मोहम्मद मुइज्जू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भारत–माल्दिभ्स सम्बन्धमा समस्या देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।