काठमाडौं - मुलुक जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण भएको क्षतिबाट मर्माहत छ।
साढे एक सयको मृत्यु तथा दुई सयभन्दा बढी घाइतेको अवस्थाले सिंगो देशलाई पीडा पुगेको छ। भत्केका हजारौं घर अनि खुला आकाशमुनि पीडितले रात बिताउनुपर्दा कर्णालीवासीको जनजीवन अत्यासलाग्दो अवस्थामा छ।
यतिबेलाको मुख्य दायित्व प्रभावित क्षेत्रमा पुगेर जसले जसरी र जति सक्छ, उति सहयोग गर्ने हो। त्यहीँ पुग्न नसक्नेले वा सम्भावना नहुनेले आर्थिक वा अन्य तवरबाट सहयोग गर्नुपर्छ।
विभिन्न क्षेत्रबाट राहत घोषणा र वितरण पनि भइरहेका छन् । सरकारले एक दुई दिनभित्र सबै पीडितकहाँ राहत वितरण गरिसक्ने बताएको छ । तर यही बेला राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमण जाने तरखरमा छन्।
अहिले शीतल निवास राष्ट्रपतिसँग एक साताभन्दा बढी समय विदेश भ्रमणमा को को जाने भनेर तयारीमा लागेको छ । कात्तिक २२ गतेदेखि राष्ट्रपति पौडेल मंसिर १ सम्मका लागि फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने तय भएको छ। जतिखेर मन्त्रिपरिषद्ले राष्ट्रपतिको विदेश भ्रमणको तय गरेको थियो त्यतिबेला मुलुकमा भूकम्पको त्रासदी थिएन।
अहिले परिस्थिति बदलिएको छ । स्वयं राष्ट्रपतिले पीडितको उद्धार र राहतमा जुट्न सरकारलाई निर्देशन दिएका छन् । विभिन्न देशका सरकार र राष्ट्रप्रमुखले राष्ट्रपतिलाई शोक सन्देश पठाएका छन् ।
सहयोगको प्रतिबद्धता जनाएका छन् । यसकारण पनि राष्ट्रप्रमुखको यतिबेलाका विदेश भ्रमण कुनै पनि हालतमा उपयुक्त हुन सक्दैन। त्यसैले यो भ्रमण रोक्नु शीतल निवासका लागि सबैभन्दा बुद्धिमानी हुनेछ।
यत्तिकै पनि पौडेलकै कार्यशैलीका कारण राष्ट्रपतीय संस्थाको मर्यादा घट्दै गएको भन्दै उनको आलोचना भइरहेको छ । राष्ट्रपति अहिले विदेश हैन, स्वदेशकै भूकम्प प्रभावित क्षेत्रमा हुनु आवश्यक छ।
विदेशतिर मुुलुकमा विपत्ति परेका बेला ठूलाबडा आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्कने चलन छ । विश्वका शक्तिशाली राष्ट्रहरूले समेत विपद्मा विदेश भ्रमण छोट्याएर वा खारेज गरेर स्वदेश फर्केका धेरै उदाहरण छन्। तर अहिले आफ्नो देश शोकमा डुबेका बेला राष्ट्रपति पौडेलको विदेश यात्रालाई कसैले पनि राम्रो मानेका छैनन् ।
उसै पनि नेपालको राष्ट्रपति संस्था सुरुदेखि नै विवादित छ। कहिले दलको पिछलग्गु बनेको त कहिले सामान्य विवेक पनि नपुर्याएको आरोप यो संस्थामाथि लाग्दै आएको छ।
त्यसैले गणतन्त्रको प्रतीकका रूपमा रहेको यो संस्थाको साख क्रमशः गिर्दै गएको छ। त्यसैले राष्ट्रपति संस्थाप्रति लाग्दै आएको दाग पखाल्न पनि यतिबेला पौडेलले आसन्न विदेश भ्रमण रोक्नुपर्छ।
नत्र अबको चार वर्ष उनी विवादै विवाद र आलोचना खेपेरै शीतल निवासमा बस्न तयार हुनुपर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।