काठमाडौं - पार्टी एकताअघि तत्कालीन एमालेको अध्यक्षमा केपी ओली र महासचिव ईश्वर पोखरेल थिए । माओवादी केन्द्रसँगको एकतापछि ओली अध्यक्ष नै छन् भने पोखरेलको पद घटुवा भएको छ ।
तर, बुधबारदेखि पोखरेलले आफूलाई पूर्वएमालेको महासचिवकै हैसियतमा गतिविधि सुरु गरेका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार प्रदेश नम्बर १ का आफूपक्षीय नेताहरुको जुम भेला गरेका थिए ।
जसमा ओली र उपप्रधान एवं विनाविभागीयमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । सो भेलाको उद्देश्य मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपाको मार्गदर्शक सिद्धान्तका रुपमा अघि बढाउनु रहेको देखिएको छ ।
ओली र पोखरेलले सोही ढंगले आफ्ना नेताहरुलाई निर्देशन दिएका छन् । जबजलाई अघि बढाउँदा पूर्वएमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले बाध्य भएर सपोर्ट गर्ने उनीहरूको विश्लेषण छ ।
तर, नेकपामा धेरै नेताले बुधबारदेखि ओली र पोखरेलले औपचारिक ढंगबाटै समानान्तर रुपमा बेग्लै पार्टी सञ्चालन गर्न थालेको बुझेका छन् । आगामी दिनमा पूर्वमाओवादी अलग भए पनि कुनै फरक नपर्ने भन्दै ओली पक्षीय नेताहरुले यस्तो रणनीति अघि बढाएको बताउन थालिएको छ ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेकपाले जनताको बहुदलीय जनवादलाई अघि बढाए हुने पक्षमा छिन् । त्यसैले बेलाबेला नेकपाका नेताहरुलाई बोलाएर सुझाव र निर्देशन दिन थालेकी छन् ।
निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता हुनु र पूर्वएमालेकै सिद्धान्त अघि बढाउन ओली र पोखरेल अघि सर्नुलाई अर्थपूर्ण रूपमा लिन थालिएको छ ।
कतिसम्म भने उपप्रधानमन्त्री पोखरेलले मदन भण्डारी फाउन्डेसन’ लाई छिटोभन्दा छिटो वडास्तरसम्म विकसित र व्यवस्थित गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुले उनीहरू नयाँ पार्टीको अभ्यासमा लागिसकेको अनुमान गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।