काठमाडौं - माओवादी उपमहासचिव जनार्दन शर्मा अहिले पार्टीमा उपत्यका विशेष ब्युरोको जिम्मेवारीमा छन् ।
पार्टी महासचिवको दौडमा रहेका शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोपभाजनमा परेका छन् । सोही कारण उनको कतै पनि खासै चर्चा सुनिँदैन । बेलाबेला आयोजना हुने पार्टी फोरममा पनि उनले नेतृत्वको आलोचना गर्दै आएका छन् ।
अर्थमन्त्री हुँदा बजेट बनाउने बेला बिचौलियालाई मन्त्रालयमा छिराएको विषयले उनले पदबाटै राजीनामा दिनुपरेको थियो । पछि छानबिनका क्रममा उनलाई चोख्याइयो । र, पुनः मन्त्रालयमै फर्के । शर्मा एमालेको मुख्य निसानामा परेका थिए । एमालेकै विरोधका कारण उनले अर्थमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।
तर यतिबेला उनी एमालेसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताउन थालेका छन् । शर्माले एकाएक राष्ट्रिय सरकारको विषयलाई बहसमा ल्याएपछि माओवादीमा तरंग सिर्जना भएको छ ।
बुधवार पार्टीको काठमाडौँ महानगर कमिटी–१६ ले दसैँको अवसरमा आयोजित शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै शर्माले सरकारको नेतृत्वमा अहिलेदेखि नै भागबण्डा गर्दा कामको गतिमा प्रभाव नदेखिएको बताउँदै सहमतिको सरकारको आवश्यकता औंल्याएका हुन् । ।
‘पार्टीहरूको बीचमा प्रतिस्पर्धाको चुनाव हुन्छ । पूर्ण समानुपातिक भयो भने झन् राम्रो भयो । त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमति गरेर जानुपर्छ । यदि राष्ट्रिय सहमति गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने ? कति महिना चल्ने ? भन्ने प्रश्न । दुई वर्ष एउटालाई भाग । एक वर्ष एउटालाई भाग । दुई वर्ष अर्कालाई भाग । भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने,’ उनले भने, ‘प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने ।
एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गालि गर्ने कुरा भएको छ । यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने ।’
उनले जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई जान सके देश समृद्ध हुने बताए । ‘सहमति नगरी हुँदैन ।
सहमति गरेर मात्रै ठुलो ठुलो परियोजना बनाउन सक्छौँ । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।