काठमाडौं - माओवादीका पूर्वलडाकु यामबहादुर अधिकारीलाई सहायक रथीमा तीन वर्ष म्याद थप्ने निर्णयलाई लिएर अहिले नेपाली सेनामा आक्रोश भुसको आगोझै फैलिँदै गएको छ ।
केपी ओली प्रधानमन्त्री हुँदा अधिकारीलाई विशेष पद सिर्जना गरेर सहायक रथी बनाइएको थियो । उनको तीन वर्षे कार्यकाल भदौ ३१ गते नै सकिँदै थियो ।
तर अमेरिका जानुअघि नै प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति प्रभुराम शर्मालाई दबाब दिएर अधिकारीको म्याद तीन वर्ष थप्न लगाए ।
सैनिक ऐनमा सहायक रथीको कार्यकाल तीन वर्ष थप गर्ने प्रावधान भए पनि एकपटकलाई मात्रै हुने र त्यो भदौ ३१ गते नै सकिएको थियो ।
यो विषयले अहिले सबैभन्दा संकट उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई परेको छ । रक्षामन्त्रीकै सहमतिमा प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति शर्मालाई भन्न लगाएर म्याद थप गरिएको भनिएको छ ।
यसमा रक्षामन्त्री खड्काले प्रस्टीकरण दिन सकेका छैनन् । तर तिनै अधिकारीलाई सेनापति बनाउने प्रचण्डको चाहनामा खड्काले पनि साथ दिएको भनेर समाचार आएपछि उनले खण्डन गरेका छन् ।
‘नेपाली सेनाको भावी प्रधानसेनापतिको नाममा मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रस्ट पार्न चाहन्छु । सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको विपरीत गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्दिनँ, म यसप्रति पूर्णप्रतिबद्ध छु,’ खड्काले भनेका छन् ।
तर एकपटक पद थमौती भइसकेका अधिकारीलाई किन तीन वर्ष म्याद थपियो भन्ने विषयमा भने रक्षामन्त्री खड्का मौन छन् । त्यसैले पनि उनको चौतर्फी आलोचना भएको हो । विभागीय मन्त्रीको स्वीकृतिविना प्रधानसेनापति शर्माले कुनै निर्णय गर्न सक्दैनन् ।
तर अधिकारीको पदावधि थप गर्दा शर्माको समेत एकलौटी सिफारिसमा सरकारले उनको पदावधि थप गरेको केही सैनिक अधिकारीहरू बताउँछन् ।
अधिकारीको पदावधि थप गर्नेबारे निणर्य गर्न बसेको सैनिक प्रिन्सिपल स्टाफ अफिसर्सको बैठकमा अधिकांश जर्नेलहरूले उनको पदावधि थप नगर्नु पर्ने राय दिएको स्रोतको दाबी छ ।
सोही कारण अहिले जंगी अड्डाले अधिकारीलाई जगेडाका रूपमा राखेको छ । अवकाशको मुखमा पुगेका अधिकारीलाई सरकारले ३१ भदौदेखि लागू हुनेगरी तीन वर्ष कार्यकाल थप गरेपछि उनलाई जगेडाका रूपमा राखिएको हो । उनको कार्यकाल थप गरेकोप्रति जंगी अड्डा सरकारप्रति असन्तुष्ट छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।