काठमाडौं - कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले आइतबार उनलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसबाट विद्रोह गरी कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनलाई एमालेका ३९ सांसदले समर्थन गरेका थिए । मुख्यमन्त्री कार्कीको शपथ नेपाली कांग्रेसको संस्थापन, माओवादी, एकीकृत समाजवादी र जसपाले बहिष्कार गरेको छ । .
कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरेका छन् । सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अगाडि बढाए पनि कांग्रेसभित्र विद्रोह गरी एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।
कांग्रेसका शेखर कोइराला निकट कार्कीले दशैंअघि नै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने बताइन्छ ।
कार्की नेतृत्वको सरकारमा कांग्रेसको संस्थापन, माओवादी, एकीकृत समाजवादी, जसपा भने सहभागी नहुने बुझिएको छ । एमालेको उक्साहटमा कार्की मुख्यमन्त्री बनेको भन्दै उनको आलोचना भइरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले मध्यावधि रोक्न कांग्रेसको विद्रोही पक्षलाई मुख्यमन्त्रीमा स्वीकारेको दाबी गरेका छन् । तर स्थिति हेर्दा ओलीले कोशीलाई माध्यम बनाएर केन्द्रकै समीकरण फेरबदल गर्न खोजेको देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।