काठमाडौं - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान कार्की ओलीलाईं भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
आजै कार्कीले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ । मुख्यमन्त्रीको शपथसँगै उनले कांग्रेस र एमालेका केही मन्त्री नियुक्ति गर्ने बुझिएको छ । ओलीसँग मन्त्री नियुक्तिबारे छलफल भएको बुझिएको छ ।
कांग्रेसका सांसद् कार्की शनिबार एमालेका सहित ४७ जना प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीको शपथ लिनुअघि नै मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष ओलीलाई भेटेपछि बालुवाटार र धुम्बाराहीमा हलचल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसकै सांसद कार्की मुख्यमन्त्री नियुक्त भए पनि गठबन्धन नतोडिने सहमति गरेका थिए ।
सो सहमतिमा कांग्रेस नेता शेखर कोइरालाले पनि हस्ताक्षर गरेका छन् । कार्कीले शनिबार नै कांग्रेस सभापति देउवा र नेता कोइरालालाई उनीहरूकै निवासमा पुगेर भेटेका थिए । तर प्रधानमन्त्री प्रचण्डसँग भने कार्कीले भेट्न नचाहेको बुझिएबमे छ ।
कांग्रेसले मुख्यमन्त्री पाउने सहमति हुँदाहुँदै पनि प्रचण्डले आफ्नो दललाई मुख्यमन्त्री लिन तिकडम गरेपछि कांग्रेसको शेखर पक्षले विद्रोह गरी कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेको थियो ।
र, सोहीअनुसार कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्ति भएका थिए । कार्की नेतृत्वको सरकारमा कांग्रेसको संस्थापन पक्ष र माओवादी सहभागी नहुने भएको छ । एमालेको सहयोगमा मुख्यमन्त्री बनेकाले पनि कार्कीलाई असहयोग गर्ने नीति प्रचण्डले लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।