काठमाडौं - केन्द्रमा नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धन भत्काउन प्रमुख प्रतिपक्षी दल एमालेले सुरुवाती सफलता पाएको छ ।
कोशी प्रदेशमा आफ्नो पहलमा कांग्रेसका विद्रोही सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले सफल भएपछि अब यसको असर केन्द्रको समीकरणसम्म पर्ने विश्लेषण गरिएको छ ।
दशंैपछि कुनै पनि हालतमा प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाउने रणनीतिअनुसार एमाले अध्यक्ष केपी ओलीले कांग्रेसभित्र खेलेको पुष्टि भएको छ ।
एमालेले आफ्नो समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बनेसँगै पुरानो गठबन्धन तोडिएको दाबी गरेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धन टुटिसकेकाले एमाले र कांग्रेसबाट विद्रोह गरेकालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे ।
‘उहाँहरूले गठबन्धन जोगायौँ भनेर भन्दैमा हुँदैन, गठबन्धन टुटिसक्यो । एमालेको समर्थनमा बनेको सरकार हो, एमाले सरकारमा सहभागी नहुने भन्ने हुँदैन, आइतबार शपथपछि सानो आकारको मन्त्रिपरिषद् बन्छ । एमाले र कांग्रेसबाट समर्थन गरेका साथीहरूमध्येबाट मन्त्री बन्नुहुन्छ । को–को सहभागी हुने भन्ने छलफलकै क्रममा छ,’ गुरुङले भनेका छन् ।
तर कांग्रेसको संस्थापन र माओवादीले यसबारेमा अहिले नै केही कुरा बाहिर ल्याएका छैनन् । किनभने संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशीमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
कार्कीले मध्यावधि निर्वाचनमा जानलाई रोक्न आफूलाई मुख्यमन्त्री बनाइएको बताएका छन् । तर अब उनी कसको मुख्यमन्त्री बन्ने भन्ने अन्योल नै छ । कोशीको सरकारको स्वामित्वलाई लिएर दुई पक्षबीच आ–आफ्नो दाउपेच सुरु भएको छ ।
मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत नपाए प्रदेशमा मध्यावधिमा निश्चित छ । एमाले र कांग्रेसको विद्रोही पक्ष मात्र सरकारमा सहभागी भएमा कांग्रेस र माओवादी केन्द्रमा सँगै रहनेछन् ।
यदि कोशीमा कांग्रेस, एमाले र माओवादी पनि सरकारमा सहभागी भए निकट भविष्यमै केन्द्रको समीकरण फेरबदल हुने बताइन्छ । सोही कारण एमालेले कोशीलाई देखाएर केन्द्रको समीकरण टुटेको प्रचार गरेको हो ।
तर कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनलाई अझ मजमुत बनाउने गरी लिखित सहमति गरेकाले केही समय राजनीतिमा फेरबदल नआउने पनि नेताहरुको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।