काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक वर्षपछि केन्द्रीय समिति बैठक कुण्ठा पोख्ने थलोमा परिणत भएको र यो राम्रो लक्षण नभएको बताएका छन् ।
जारी केन्द्रीय समितिको आइतबारको बैठकमा नेता कोइरालाले सभापति र पदाधिकारीले यसको जवाफ दिनुपर्ने माग गरेका छन् । नेता कोइरालाले जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसाल्न आग्रह गरे ।
‘हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि बिधानअनुरुप अगाडि बढाउने काम गरौँ । बिधानले सवैले गर्ने काम तोकेको छ । हामी कतिले के-के गर्यौ, मनन गरौँ । लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ,’ उनले भने ।
कोइरालाले १४औँ महाधिवेशनले नेतृत्व चयन मात्र गरेको भन्दै बिधानअनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउन माग गरे ।
‘पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होइन । पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो ।सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन । परिपक्व र जिम्मेवार बनौँ । दूरदराजका जनताको आवाज सुनौँ । केवल शब्द रटानमा मात्रै होइन, व्यावहारिक रुपमै आफूलाई परिवर्तन गरौँ । विधानले व्यवस्था गरेअनुसार बसौँ र छलफल गरौँ,’ उनले भने ।
अहिलेको बिश्व लोकरिझ्याइँमा चलेको भन्दै सायद केन्द्रीय समितिको बैठक लाइभ गर्नु राम्रै भए पनि कुन बिषय बन्दकोठामा गर्ने र कुन बिषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्ने धारणा राखे । महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै रहेको कोइरालाले बताए ।
‘कांग्रेस मासबेस पार्टी भनिन्छ, तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ । केन्द्रले जिल्लालगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ । किनकि यसले संघियताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ,’ उनले भने ।
कोइरालाले कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय नभएको बताउँदै आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौं भनी शपथ खानुपर्ने बताए । गत निर्वाचनमा कांग्रेसले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम रहेको उनले बताए ।
‘गएको आमनिर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठूलो दल भएको छ । ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन, तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनि हामी छौँ । संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रोसामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुवाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुवाट पनि चुनौतीको घेरामा छ,’ उनले भने ।
सरकारको समीक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय नभएको उनले बताए । नेता कोइरालाले राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको आरोप लगाए । नीतिगतरुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
‘हाल संसदमा रहेको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०” तत्काल खारेज गरिनुपर्छ । यदि यो बिधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहना राख्छन्,’ उनले भने ।
कोइरालाले भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो बिषय भएको भन्दै यस बिषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था नरहेको उल्लेख गरे । ‘यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छबि धमिलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्ने कोइरालाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।