काठमाडौं – नेपाली कांग्रेसका चर्चित केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका छन् ।
नेपाल प्रेस युनियन खोटाङले शनिवार त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभापतिका लागि उम्मेदवारी दिनेबारे समर्थक र नेताहरूसँग छलफल भइरहेको बताएका हुन् ।
अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा डा. कोइरालाले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरे पनि हालसम्म संसद चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका छन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि मुलुकमा झनै जटिलता थपिएको डा. कोइरालाले बताए ।
‘फागुन ११ गते संसद पुनःस्थापना भयो । फागुन २३ गते संसदको पहिलो बैठक राखियो । त्यो बैठकमा जुन दृश्य देखियो, त्यो दृश्यले संसद अनिर्णयको बन्दी बन्यो भन्ने देखाउँछ । संसद अनिर्णयको बन्दी बनिसकेपछि सरकारको औचित्य रहँदैन,’ डा. कोइरालाले भने, ‘सर्वोच्चको दोस्रो निर्णयले त झनै अप्ठ्यारो परिस्थिति सिर्जना गरिदियो, जटिलता थपिदियो । नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् स्थानमा फर्कनु भनिदियो । एउटै पार्टी बनेर अघि जाने हो भने निर्वाचन आयोगमा दल दर्ता गराउनु भन्यो । सर्वोच्चले आफ्नो निर्णय दियो तर निर्वाचन आयोग नै अनिर्णयको बन्दी बन्यो । आयोगले पहिल्यै निर्णय दिन सकेको भए सायद सर्वाेच्चले यस्तो निर्णय गर्दैन्थ्यो होला ।’
डा. कोइरालाले मुलुकमा देखिएको वर्तमान समस्याको निकास निर्वाचन मात्र भएको दाबी गरे । निर्वाचन नभए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल बढ्नसक्ने भएकाले सकेसम्म चाँडो निर्वाचनमा जानुपर्ने डा. कोइरालाले बताए ।
‘अब देशलाई निकास दिन र संसद चल्नका लागि हामीसित निर्वाचनबाहेक अर्को निकास छैन । निकासको निम्ति निर्वाचन चाहिन्छ । नत्र संसद चल्दैन । संसदमा हंगामा भइरहन्छ र देश अप्ठ्यारो परिस्थितिमा जान सक्छ । अप्ठ्यारो परिस्थितिमा देश जाँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल बढ्न सक्छ,’ कोइरालाले भने, ‘अबको निकासको बाटो भनेको निर्वाचन नै हो । तर त्यो निर्वाचन बहुमतको सरकारले गर्न सक्दैन भन्ने नजिर बसिसक्यो । त्यसका लागि अल्पमतको सरकार आवश्यक छ । त्यतातिर कांग्रेसले पहल गर्नुपर्छ ।’
डा. कोइरालाले विप्लव र रेशम चौधरीलाई सत्ता साझेदारीको ‘टुल्स’ बनाइनु गलत भएको धारणा राखेका छन् । ‘बडा विचित्र छ यो देश । विप्लवलाई नेकपामा ल्याइयो, कति ठाउँमा त ताण्डव नृत्य देखाइयो । त्यो सही, रेशम चौधरी गलत भन्ने हुँदैन । विप्लव पनि गलत हो, रेशम चौधरी पनि गलत हो,’ कोइरालाले भने, ‘राजनीतिमा कसलाई ल्याउँदा देशको अभिष्ट पूरा हुन्छ त्यो इम्पोटेन्ट कुरा हो । कसलाई ल्याउँदाखेरी देशलाई फाइदा हुन्छ भन्नेमा हाम्रो ध्यान गएको छैन ।’
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नगरेसम्म वर्तमान सरकार कायम रहने उल्लेख गर्दै कोइरालाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।