काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समाजवादी मोर्चा गठनको अन्तिम तयारीमा लागेका छन् ।
संसदमा ५४ सांसदसहित बलियो र निर्णायक शक्ति बन्न प्रचण्ड र नेपाल वार्ता र संवादमा छन् । उनीहरूले मोर्चामा उपेन्द्र यादव, वामदेव गौतम र नेत्रविक्रम चन्द विप्लवलाई पनि समावेश गर्न लागेका छन् ।
पार्टीको अधिकांश नेताहरूको असहमतिका बाबजुद माओवादीको नेतृत्वमा समाजवादी मोर्चा बनाउने भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि उत्पन्न भएको छ । पार्टीको भूमिका कमजोर भएको निष्कर्षसहित एकीकृत समाजवादीका धेरै नेता एमालेमै फर्कन थालेपछि माधव नेपाल प्रचण्डलाई नेता मानेर समाजवादी मोर्चामा लागेका छन् ।
आफूसँग रहेका १० जना सांसदमध्ये अधिकांश कुनै पनि बेला एमालेमा फर्कने भन्दै नेपालले छिटोछिटो मोर्चा बनाउने योजनामा लागेका छन् । माधव र प्रचण्डको योजनाअनुसार समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको छ ।
समाजवादी मोर्चाबारे छलफल गर्न एकीकृत समाजवादीले शुक्रबार बिहान पदाधिकारी र सचिवालयको बैठक डाकेको छ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ । माओवादीको ३२ सिटमा डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाका दुई सांसद छन् । तर मोर्चाबाट बाबुराम आउट भएका छन् ।
प्रचण्ड र माधवबीच हार्दिक सम्बन्ध रहे पनि एकीकृत समाजवादीका प्रेम आले र माओवादीका सुदन किराँतीबीच तीव्र मतभेद देखिएको छ । जुन प्रतिनिधिसभा बैठकमै छताछुल्ल भएको छ । पर्यटनमन्त्री किरातीले एकीकृत समाजवादीका नेता प्रेम आलेलाई सार्वजनिक रूपमै कठोर चेतावनी दिएका छन् । आफूबिरुद्ध संसदमा जथाभावी आरोप लगाएको भन्दै मन्त्री किरातीले आलेलाई ‘आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू’ भन्दै कडा चेतावनी दिएका हुन् ।
उनले बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो भन्दै आलेलाई चेतावनी दिएका छन् । पूर्वपर्यटनमन्त्री आलेले सदनमा किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि सामाजिक सञ्जालमा मन्त्री किरातीले चेतावनीसहित जवाफ फर्काएका हुन् । ‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो ।
म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नुपर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू,’ आलेलाई चेतावनी दिँदै मन्त्री किरातीले फेसबुकमा लेखेका छन् । बिहीबार संसद् बैठकमा आलेले पशुपतिमा पनि मुसा छिरेको भनेर मन्त्री किराँतीको आलोचना गरेका थिए । उनले किराँतीलाई स्टन्ट मन्त्री भनेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।