काठमाडौं - टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफीबारे नेपाली कांग्रेसमै दुईथरी मत देखिएको छ ।
संस्थापन पक्षका नेताहरुले अहिलेसम्म केही बोलेका छैनन् । तर सो समूहका युवा नेता पनि चौधरीलाई आममाफी दिएको विषयमा असन्तुष्ट छन् ।
इतर समूहमा त पार्टीका पदाधिकारी नै असन्तुष्ट छन् । तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय भुक्तान गर्न आदेश दिएकाले उनले आममाफी पाउन नहुनेमा धेरैको एकमत छ ।
कांग्रेस महामन्त्री गगन थापाले प्रक्रिया पूरा नगरी पार्टी नेतृत्वले एकलौटी निर्णय गरेको बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआई राष्ट्रपतिबाट आममाफी दिइएकोमा विरोध जनाएका छन् ।
नेपाली कांग्रेसका नेता डा: शेखर कोइरालाले त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सत्ता टिकाउन जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन् ।
कोइरालाले चौधरीको आममाफीपछि दण्डहीनतालाई मलजल पुगेको उल्लेख गरे । कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिइयो । यसबाट सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व सबै कमजोर बन्यो ।’
जबकि सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा नै उपस्थित थिए । देउवाले भने यस विषयमा केही बोलेका छैनन् । चौधरीलाई आममाफी दिइएको विषयमा परेको रिटमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।