काठमाडौं - नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भूमिगत भएका छन् ।
बुधबार गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै मञ्चमा रहेका उनले पत्रकारहरूसँग ‘आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए ।
तर, उनी माओवादी कालका नेताहरू जस्तै एकाएक ‘भूमिगत’ भएका छन् । आफूलाई पक्राउ गर्न लागेको सूचना पाएपछि रायमाझी फरार भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि मोबाइल ‘स्विच्डअफ’ गरेर उनी बेपत्ता भएका छन् ।
प्रहरीले बुधबार बेलुका काठमाडौं विमानस्थलबाटै रायमाझीलाई पक्राउ गर्ने योजना बनाएको थियो । उनी बिहीबार बिहानै प्रहरीको नियन्त्रणमा आइसकेको समाचार प्रवाह भएको थियो । त्यो पनि प्रहरीबाटै ।
उनी सभामुख घिमिरेसँगै बुधबार भैरहवाबाट काठमाडौं फर्किने सूचना पाएर प्रहरी विमानस्थल पुगेको थियो । तर, पक्राउ गर्न टोली खटिएको सूचना पाएपछि रायमाझी टिकट ‘क्यान्सिल’ गरेर सम्पर्कविहीन भएका हुन् ।
आफ्नो पार्टीका सचिव रायमाझीलाई पक्राउ गर्न थालिएको समाचार आएपछि एमाले अध्यक्ष केपी ओली बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए ।
उनी योजनाबद्ध रूपमै रायमाझीलाई उन्मुक्ति दिन, पक्राउ नगर्न भन्दै धम्की दिन प्रधानमन्त्रीकहाँ पुगेको देखिएको छ । किनभने ओली अहिलेसम्म भ्रष्टाचारका संरक्षक रहँदै आएका छन् ।
ओलीले आफूले रायमाझीसँग फोनमा कुराकानी पनि गरेको र उनी निर्दोष भएको प्रधानमन्त्रीलाई बताउनुले पनि रायमाझीलाई ओलीले नै फरार बनाएको अनुमान गरिएको छ ।
बुधबारसम्म सार्वजनिक कार्यक्रममा देखिएका, प्रहरीलाई म आउँदैछु भनेर फोन गरेका तर शुक्रबार बिहानसम्म कतै नभेटिएपछि अहिले सामाजिक सञ्जालमा टोपबहादुर रायमाझी हराएको सूचना भन्दै उनको ट्रोल भइरहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।