काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उ,र्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्न ज्यादै हतारो भएको देखिएको छ ।
मन्त्री रायमाझीले एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्ने तर्क गरेका छन् । शुक्रवार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको जनाएका छन् ।
‘एमसीसी लागू गरौं वा खारेज गरौं तर अब अलमलको अवस्थामा बस्नु हुँदैन,’ मन्त्री रायमाझीले भने, ‘म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी लागू गर्नुपर्ने विचार व्यक्त गर्दै आएका छन् । एमसीसीकै कारण तत्कालीन नेकपामा ठूलै विवाद सिर्जना भएको थियो ।
मन्त्री रायमाझीले मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन् । ‘ऊर्जा संकट हटाउन ९९ बुँदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिडलाई मैले नै राखेको हुँ,’ मन्त्री रायमाझीले भने, ‘तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’
नेकपाभित्रको विवादका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनले बताए । प्रधानमन्त्रीले अस्थिरताको विकल्पका रूपमा चुनाव रोजेको भन्दै अब सबै दल चुनावमा होमिनुपर्नेमा उनले जोड दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।